पर्यटकीयस्थलमा पूर्वाधार निर्माण थालनी

राम्रो अनलाइन     २८ माघ २०८०, आइतबार
पर्यटकीयस्थलमा पूर्वाधार निर्माण थालनी

म्याग्दी–गण्डकी प्रदेश सरकारले यहाँका १८ पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । 

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ५६ लाख बजेट विनियोजन गरेको छ । कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणका लागि छनोट भएका योजना कार्यान्वयनलाई तिव्रता दिएको जानकारी दिए ।  

‘पाँच पदमार्ग निर्माण गर्ने योजना सम्पन्न भइसकेको छ’, उनले भने, ‘आठ योजना निर्माणाधिन छन्, पाँच योजनाको उपभोक्ता समितिलाई सम्झौताका लागि बोलाएका छौँ ।’ कार्यालयका अनुसार रु १०/१० लाख बजेट विनियोजन भएको धवलागिरी गाउँपालिका–७ को ताकमकोट पदमार्ग, बेनी नगरपालिका–९ को गलेश्वर–काउलेगौडा–नेप्टेचौर–ढोलथान–दरबार र रु पाँच लाख बजेट विनियोजन भएको मालिका–६ को बलौटे दुखुबेसी पदमार्ग योजनाको निर्माण सकिएको हो । 

यसैगरी रु आठ/आठ लाख बजेट विनियोजन भएको बेनी नगरपालिकाको डल्ले पिपलदेखि फोहोटे–रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ को अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारीसम्म पदमार्ग निर्माणको योजना सकिएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताए । 

रु २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण–५ को खोपारालेक पर्यटन पूर्वाधार, रु १०र१० लाख बजेट विनियोजित मालिका गाउँपालिका–५ को पन्थोकदेखि मालिका जोड्ने पदमार्ग, मङ्गला गाउँपालिका–३ को चिनाकोट पर्यटकीय पूर्वाधार, रघुगङ्गा–४ को दर्मिजादेखि नागिदेवी जोड्ने पदमार्ग, बेनी–५ को ढोल्थान र अन्नपूर्ण–८ को करवाकेली मन्दिर जाने पदमार्ग निर्माण योजना निर्माणाधिन अवस्थामा छन् । 

रु पाचरपाँच लाख बजेट विनियोजन भएको बेनी–१ को परम वैदिक धार्मिक सनातन आश्रम र धवलागिरी गाउँपालिका–५ र ६ को भाल श्री छापाछाङ औसी खालीखोला पदमार्गको उपभोक्ता समितिसँग सम्झौता भएको छ । रु १०/१० लाख बजेट रहेको बेनी–२ को ज्यामरुककोट मन्दिर संरक्षण, मालिका–३ को लामखोरीया डाडागाउँ पदमार्ग योजनाको उपभोक्ता समितिसँग सम्झौताको तयारी गरिएको छ । 

रु पाँचरपाँच लाख बजेट विनियोजन भएको रघुगङ्गा–७ को कालिबराह मन्दिर तथा कुण्ड संरक्षण, मङ्गला–५ को शिलखुङ–चाङ र बेनी–१ को सारेमारे–भुवाने पदमार्ग योजनाको पनि सम्झौता हुन बाँकी छ । 
 

प्रतिक्रिया