रेखा थापाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

राम्रो अनलाइन     ०४ फागुन २०८०, शुक्रबार
रेखा थापाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

काठमाडौँ– फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । रेखा फिल्मस् र कपनगढी फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्मको ट्रेलरमा मुख्य तीन महिला पात्रको कथा देखाइएको छ । 

शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ। ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्ममा नायिकात्रय रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल केन्द्रमा छन् । यी तीन पात्रको आ–आफ्नै कथा छ । सोही कथालाई निर्देशक देउजाले पर्दामा देखाएका छन् । 

सुलभ प्रतिक र समीक्षा देउजाको निर्माणमा तयार भएको फिल्मका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राना, सुष्मा कार्की, अञ्जु महर्जन लगायतका कलाकारको अभिनय छ । 

फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विष्णु कल्पितको छायांकन छ । सुलक्षण भारतीको कथा रहेको फिल्ममा सुलक्षणको साथमा अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । 

फिल्म ‘उपहार’ले कमेडी शैलीमा समाजको मुद्दालाई  उठान गरेको बुझ्न सकिन्छ ।
 

 

प्रतिक्रिया