काठमाडौँ–नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान’ बाट यस वर्ष वरिष्ठ खेलकुद पत्रकार रोशनसिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार–२०८३’ बाट नायक पौडेल पुरस्कृत भएका छन् ।
मञ्चको २१औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरे । अग्रज सम्मान पाएका राउतले सम्मानपत्रसहित रु ३५ हजार र नायकले ल्यापटप पुरस्कार प्राप्त गरेका हुन्। हाल लोकान्तर अनलाइनमा कार्यरत खेल पत्रकार राउतले करिब तीन दशकदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन्।
सो क्रममा उनले श्री सगरमाथा र एभरेष्ट हेराल्ड हुँदै रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्समा काम गरेका थिए। त्यस्तै अन्नपूर्ण पोस्टमा उनले दुई दशक खेलकुद ब्यूरो प्रमुखका रूपमा काम गरेका थिए।
रोशनले पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेका छन् । सम्मान प्राप्त गरेपछि राउतले भने, “मैले विभिन्न ठाउँबाट सम्मान पाएको छु । तर यो सम्मान मेरो लागि विशेष छ । किनकि यो मैले आफ्नै परिवारबाट पाएको हुँ ।”
यसैगरी सुमन भोम्जन युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत युवा पत्रकार नायक द राइजिङ नेपाल हुँदै द काठमाण्डु पोष्ट दैनिकमा काम गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारणसभाको सफलताको कामना गरे।