रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

राम्रो अनलाइन     २२ भदौ २०८३, सोमबार
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु

काठमाडौँ–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको जनाएको छ ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणका प्रवक्ता शान्ती महतले रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव फेला परेको जानकारी दिए।  उनले भने, “बाढीमा परी करिब चार हजार ९९६ जना सम्पर्कविहीन रहेको विवरण छ । रसुवा जिल्ला प्रशासन कार्यालयबाट करिब एक हजार ९६७ जना र  नुवाकोटबाट करिब दुई हजार ३४० नेपाली सम्पर्कविहीनको विवरण अद्यावधिक छ ।”

उनका अनुसार, सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ । यसबीच बाढीमा फसेकाहरु मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

प्राधिकरणका अनुसार छ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ । ती मध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना उपचारपछि फर्किएका छन्। 

प्रभावित क्षेत्रमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टरमा अहिले तीन हजार ५३३ जना बाढी प्रभावित रहनुभएको छ ।  ती मध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ ।  नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना सुरक्षाकर्मी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि परिचालित छन् । 

प्रतिक्रिया