सामान्य औषधिबाटै संक्रमितलाई जोगाउन सकिने डा ह्योजुको दाबी

राम्रो अनलाइन     ०९ जेठ २०७८, आइतबार
सामान्य औषधिबाटै संक्रमितलाई जोगाउन सकिने डा ह्योजुको दाबी

काठमाडौँ, ९ जेठ : कोरोना भइरस विरुद्ध औषधि र उपचार पद्धति फेलापरिनसकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहेका डा संजिव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार सङ्क्रमितलाई उपचार गर्न सुझाव दिइरहेका छन् । 

उनका अनुसार सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ । डा ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोेनिडाइन ट्याब्लेट (लोनिड १००), डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड (फाम–४०)  प्रयोग गर्न सुझाइरहेका छन् । 

तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका सङ्क्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दैआएको उनी बताउँछन् । 

कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य सङ्क्रमित भए पनि डा ह्योजुको सल्लाह र उनले सिफारिश गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै सङ्क्रमण मुक्त हुनसकेको बताउँछन् । केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकाँश अक्सिजनसमेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उनीहरुले डा ह्योजुले सिफारिश गरेका औषधिको सेवन गर्न थाले र त्यसैबाट कोरोना वीषाणुको सङ्क्रमणलाई जित्न सफल भए । बज्राचार्य पहिले आफू सङ्क्रमण मुक्त चए र त्यसपछि परिवारजनको स्याहारमा उनी लागे । 
 
बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । 
    
डा ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिकाका लागि शोध गर्दै छन् । कोरोना भाइरसमाथि गरेको गहिरो अनुसन्धान र यसको उपचारमा सङ्गालेको अनुभवको आधारमा डा ह्योजुले यी औषधिको सिफारिश गरिरहेका छन् जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट बेहोर्नुपर्दैन । 

डा ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना सङ्क्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहेका छन् । आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा ह्योजुको दावी छ ।
 

प्रतिक्रिया