श्रीमतीलाई गोली हानेपछि आफूमाथि बन्दुक चलाए युवकले

राम्रो अनलाइन     ०५ चैत २०८२, बिहिबार
श्रीमतीलाई गोली हानेपछि आफूमाथि बन्दुक चलाए युवकले

कैलाली – कैलालीको गोदावरी नगरपालिका–४, अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिताको हत्या गरेका छन् । गोली हानी उनले श्रीमतीको हत्या गरेका हुन् । त्यसपछि उनले आफैँमाथि गोली प्रहार गरेका प्रहरीले जनाएको छ ।

गोली लागेर घटनास्थलमै सञ्जिताको मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

बुधबार (चैत ४) अपराह्न गाउँनजिकैको जंगलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रवक्ता तिमिल्सिनाले बताए ।

उनले भने, ‘गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ घटना भएको समय यकिन भइसकेको छैन ।’ सञ्जिताका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया