समयमै निर्वाचन गराउन सरकारलाई कांग्रेसले सम्पूर्ण रूपमा साथ दिन्छ : गगन थापा

राम्रो अनलाइन     १४ फागुन २०८२, बिहिबार
समयमै निर्वाचन गराउन सरकारलाई कांग्रेसले सम्पूर्ण रूपमा साथ दिन्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानलाई सही मार्गमा राख्नका लागि निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले चुनाव कुनै पनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको बताए । संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको उनले बताए ।

‘चुनाव आउन अब केही दिन मात्र बाँकी छन् । यो चुनाव यसरी आउँछ भन्ने हामी कसैले पनि सोचेका थिएनौँ । यो हाम्रो योजनाको चुनाव पनि होइन । यो चुनाव हाम्रो बाध्यता हो, ’थापाले भने, ‘तर, यो चुनाव अहिले हाम्रो संविधानलाई ट्र्याकमा राख्नका निम्ति अनिवार्य सर्त पनि हो । योभन्दा अर्को विकल्प थिएन र छैन ।’

परिणामको चिन्ता नगरी चुनाव सफल बनाउन पार्टी लागिपरेको थापाको भनाइ छ । केही तत्त्वहरूले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको थापाको भनाइ छ । ‘त्यसकारण चुनाव घोषणा भएको दिनदेखि नै चुनावको परिणामको चिन्ता नगरिकन चुनावलाई सफल बनाउनको लागि नेपाली कांग्रेस पार्टीले आफ्नो भूमिका निर्वाह गरेको छ, ’उनले भने ।

निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरू चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता थापाको छ ।

‘चुनावका बारेमा यताउता र केही संशयहरू सिर्जना गर्न खोजिएको छ । ती तमाम संशयहरूलाई चिर्दै समयमा निर्वाचन गराउने कुराका सन्दर्भमा यो सरकारलाई पनि सम्पूर्ण रुपमा साथ दिँदै संविधानलाई लयमा ल्याउने प्रतिबद्धताबाट नेपाली कांग्रेस एक इन्च पनि तलमाथि गर्दैन,’उनले भने ।

फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको थापाले बताए । अगामी वर्षहरूमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहति कांग्रेस जनतासामु गएको उनले बताए । अब कुनै पनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने थापाको प्रतिज्ञा छ । नेपाली कांग्रेसले जेनजी आन्दोलनको अपनत्व लिइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया