सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई गठबन्धन दलका नेताको सुझाव

राम्रो अनलाइन     १८ साउन २०७९, बुधबार
सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई गठबन्धन दलका नेताको सुझाव


काठमाडौँ–सत्ता गठबन्धनले सङ्घ र प्रदेशको निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको गठबन्धन बैठकले सरकारलाई निर्वाचनको घोषणा गर्न सुझाव दिएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

निर्वाचनको मितिका बारेमा बैठकमा छलफल नभएको उहाँले बताउनुभयो । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए । ‘बैठकले सरकारलाई निर्वाचन घोषणा गर भन्ने सुझाव दियो’, अध्यक्ष यादवले भने, ‘गठबन्धनलाई निरन्तर जारी राख्ने सहमति भयो ।’

पाँच दलीय गठबन्धनको अर्को बैठक शुक्रबार बिहान बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष यादवलगायत गठबन्धन दलका शीर्ष नेता सहभागी थिए। 
 

प्रतिक्रिया