नारायणी रजौरे र दीपक बोहरा
तुलसीपुर, २३ वैशाख ः बाँकेसँग सिमाना जोडिएर पनि होला दाङ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढिरहेको छ । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । बुधबारसम्म यस जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार हाराहारीमा छ । सक्रिय सङ्क्रमित थपिने क्रम हरेक दिन बढ्दो छ । त्यस्तै यस जिल्लामा कोरोना भाइरसको सङक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९७ पुगेको छ ।
यहाँका चिकित्सकहरू भन्छन्– यसपटकको कोरोना भाइरस गतवर्षको भन्दा कडा खालको देखिएको छ र यसले तत्कालै तथा गम्भीर रूपमा असर गर्ने गर्दछ । उनीहरूले भनेअनुसार यो भाइरसले अन्य रोग भएका सङ्क्रमितलाई निकै सताउने गरेको छ । सङ्क्रमण भएको १४ दिनमा लक्षणहरू विस्तारै घट्दै जानुपर्ने भनिए पनि यहाँका कतिपय सङ्क्रमितहरूले त्योभन्दा पनि लामो समयसम्म सास फेर्न गाह्रो हुने, खोकी लागिरहने भइरहेको बताएका छन् ।
त्यसो त यहाँ कोरोनालाई जित्नेहरू पनि बढ्दै छन् । दोस्रो चरणमा सङ्क्रमित भएकाहरूमध्ये धेरैजना कोरोना जितेर घर फर्किसकेका छन् । मङ्गलबार मात्रै यस जिल्लाका १९६ जनाले कोरोना जितेका छन् । उनीहरूले अवस्था सामान्य रहेको बताएका छन् ।
जिल्लामा कोरोना विशेष अस्पताल बेलझुण्डी छ । प्रदेश सरकारले साबिक राप्ती अञ्चलका सङ्क्रमितलाई राख्नका लागि भन्दै बेलझुण्डीमा कोरोना विशेष अस्पताल निर्माण ग¥यो । त्यो नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत रहेको आयुर्वेद शिक्षण अस्पतालको भवन हो ।
अहिले दोस्रो चरणका रूपमा देखिएको सङ्क्रमण अघिल्लो वर्षको भन्दा तीव्र रूपमा फैलिएको छ । केही समय त विश्वविद्यालयले भवन छोड्न नमानेपछि शय्या (बेड) थप गर्न समस्या भयो । त्यतिबेलासम्म तल्लो तलामै अस्पताल सञ्चालन थियो, माथिल्लो तलामा विएएमएसका विद्यार्थीहरूको कक्षा चल्थ्यो ।
जब बन्दाबन्दी भयो त्यसपछि भने विश्वविद्यालयले माथिल्ला दुईवटा तलालाई पनि अस्पताल विस्तार गर्न दिने सहमति भयो र चावी हस्तान्तरण गरेपछि बेड सङ्ख्या पनि थप भयो । अस्पतालका व्यवस्थापक द्रोण ओली भन्छन्, ‘‘अहिले बेड सङ्ख्या ४२ हो, तर हामीले ५९ जनासम्म विरामी राखेर उपचार गरिरहेका छौँ ।”
अस्पतालमा शय्या थप्नुभन्दा पनि बेडमा राखिएका सङ्क्रमित अनुसार अक्सिजन पु¥याउन सकस छ । गएको आइतबार बेलझुण्डी अस्पतालमा तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी ४८ वर्षीय सङ्क्रमितको अक्सिजन नपाएरै मृत्यु भयो ।
दैनिक करिब पाँचसय सिलिण्डर अक्सिजन भएमा एकसय विरामीलाई सेवा दिन सक्न्छि तर अस्पतालमा अक्सिजन पर्याप्त छैन । करिब दुई सयको हाराहारीमा मात्रै अक्सिजन छ । त्यसले विरामीलाई पु¥याउनै सकस हुन्छ । जिल्लाको घोराहीमा दैनिक दुई हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको उद्योगको छ । तर विद्युत् आपूर्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
उता तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा भएको अक्सिजन प्लान्ट विग्रिएको तीन महिना भयो, मर्मत गर्नेतर्फ कसैको ध्यान गएको छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा विनोद सिंह भन्छन् ‘‘मेसिन काठमाडौँ आइपुगेको छ, केही दिनमा तुलसीपुर आउछ ।” अहिले नेपालगञ्जबाट अक्सिजनको आपूर्ति भइरहेको छ ।
जिल्लामा अक्सिजन उत्पादन गर्ने उद्योग तथा प्लान्टहरू सञ्चालनमा नआउँदा द्रोण ओली, पदमप्रसाद पोखरेलहरू अहिले तड्पिरहेको देखिन्छ । ओली बेलझुण्डी अस्पतालका व्यवस्थापक हुन् । सङक्रमतिलाई बचाउने जिम्मेवारीमा उनी छन् । ओली आफै पनि यसअघि कोरोना सङ्क्रमित भएका थिए तर पनि सङ्क्रमितकै हेरचाह गर्ने गर्थे ।
तुलसीपुर निवासी पदमप्रसाद पोखरेल पनि अहिले अक्सिजनको जोहो गर्ने काममा लागेका छन् । तुलसीपुर उपमहानगरपालिकाले उनलाई अक्सिजन र शव व्यवस्थापनको जिम्मा दिएको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र ‘होम आइसोलेसन’ मा बसेका प्रत्येकलाई अक्सिजन पु¥याउने जिम्मा पदमलाई नै छ ।
बेलझुण्डी अस्पतालमा गाह्रो
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीलाई समस्या हुने गरेको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीले एक सय शय्या रहेको सो अस्पतालमा हालसम्म ५७ जना बिरामी उपचाररत रहेको र अक्सिजनको सहज उपलब्धता नहुँदा समस्या हुने गरेको बताए ।
उनले भने, “अस्पतालमा अक्सिजन छैन, विरामी भर्नाका लागि मलार्ई सिफारिस र दवाब नदिनुहोला ।” उनले अक्सिजन व्यवस्थापनका लागि सहयोग गरिदिन सरोकारवाला सबैलाई अनुरोध पनि गरेका छन् । सो अस्पतालमा पाँच सघन कक्ष र ७५ शय्या अक्सिजनसहितका छन् । त्यस्तै अन्य सामान्य शय्या रहेका छन् ।
कोरोना अस्पता बेलझुण्डीमा पछिल्लो २४ घण्टमा दुई जना विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सघन कक्षमा उपचाररत कोरोना सङ्क्रमित हुन् । मृत्यु हुनेमा घोराही उप महानगरपालिका– १८ का ४५ वर्षीय महिला र घोराही उपमहानगरपालिका– १५ का ६५ वर्षीय पुरुष रहेको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए ।
ती महिला गत वैशाख १५ गतेदेखि सो अस्पतालमा उपचाररत रहेकी र उनको हिजो दिउँसो मृत्यु भएको हो । त्यस्तै पुरुष गत वैशाख १७ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको हिजो बिहान मृत्यु भएको हो । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका बिरामीको उपचार हुने गरेको छ ।
अक्सिजन उद्योग सञ्चालनमा ल्याउने प्रयास
घोराहीको अक्सिजन उद्योग सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । चौतर्फी दवावपछि मङ्गलबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्योगको अवलोकन र अवस्था बुझ्नुभएको थियो ।
त्यसपछि उहाँकै पहलमा उक्त उद्योग सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ । विद्युत आपूर्ति नहुँदा घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्नीस्थित उक्त अक्सिजन उद्योग प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको थिएन । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको समन्वयमा भएको बैठकले अक्सिजन प्रालिमा तत्काल विद्युत जोड्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको सहकार्यमा उपचार
घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको समन्वयमा कोरोना भाइरस सङ्क्रमितको उपचार थालेको छ । घोराहीले अक्सिजनसहितको ४० शय्या बनाउने निर्णयअनुसार प्रतिष्ठानसँगको सहकार्यमा बिरामीको उपचार थालेको हो । प्रतिष्ठानमा अहिले २५ शय्या बनिसकेको छ । उपमहानगरपालिकाले प्रतिष्ठानलाई रु १० लाख उपलब्ध गराएको छ । शय्या निर्माण, अक्सिजन तथा उपचारका लागि तत्कालका लागि सो रकम हस्तान्तरण गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
सबै पालिकामा शय्या
दाङका स्थनीय तहहरूले कोरोना महामारीसँग जुध्न अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएका छन् भने केही स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याउने तयारी थालेका छन् । देउखुरीका चार स्थानीय तहले लमहीमा कोरोना सङ्क्रमितको उपचारका लागि २५ शय्याको एचडियू अस्पताल सञ्चालनमा ल्याएका छन् । देउखुरीको लमही नगरपालिका, राप्ती, गढवा, राजपुर गाउँपालिकाको पहलमा अस्पताल सञ्चालनमा आएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।
अक्सिजन दिएर उपचार गर्नुपर्ने सङ्क्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिने उहाँको भनाइ छ । पहिलो चरणमा १२ शय्या तयारी अवस्थामा रहेको र छिटै शय्या थपेर २५ पु¥याइने उनको भनाइ छ ।
जिल्लाका दुई उपमहानगरपालिकाले पनि आइसोलेशन सेन्टर तयारी अवस्थामा रहेको जनाएका छन् । तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शय्याको आइसोलेशन सेन्टर तयार पारेको छ । दाङमा १० स्थानीय तह छन् । अन्य स्थानीय तहले पनि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
सङ्क्रमितको दाहसंस्कारमा समस्या
विश्वस्वास्थ्य संगठनले भनेको छ ‘सावधानी अपनाए मृत व्यक्तीबाट कोरोना सर्दैन ।’ फोक्सो चिरफार गर्नुपर्ने अवस्था आए पनि असावधानी भएमात्र कोरोना सर्न सक्छ अन्यथाः शवबाट कोरोना सर्ने सम्भावना निकै कम रहन्छ । त्यसैले पनि नेपालमा शवलाई आ–आफ्नो परम्पराअनुसार व्यवसथापन गर्न दिइएको छ ।
शव व्यवस्थापनका लागि घाटमा आफन्तहरू पुगे पनि नेपाली सेनाले नै त्यसको व्यवस्थापन गरिरहेको छ । कोरोनाबाट मृत्यु भएका तुलसीपुरका अधिकांश सङ्क्रमितको शीतलपुरस्थित बबई घाटमा अन्त्येष्टि गरिन्छ । त्यहाँ संक्रमितको शव व्यस्थापन कार्य फितलो देखिएको छ । केही समय दाउरा नपाउँदा पनि समस्या हुने गरेको थियो । आधा शव जलाउने र आधा यसै छोडेर हिँड्ने पनि गरेका थिए ।
स्थानीय व्यवसायी तथा पत्रकार देवीराम कुसारीको सार्वजनिक आह्वान पछि धेरै व्यक्तिले कैयौँ ट्याक्टरका दाउरा सहयोग गरे । अहिले पनि त्यहाँ केही दर्जन ट्याक्टर दाउरा छन् । “मेरो सार्वजनिक आह्वानपछि एक दर्जनभन्दा बढी ट्याक्टर दाउरा आए, त्यसले शव जलाउन निकै सहज भएको छ”, उनले भने, “यो अभियानमा सम्पूर्ण समाजसेवीहरूले सहयोग गर्नुभयो, जनप्रतिनिधिको पनि उत्तिकै साथ छ ।”
दाउराको मात्रै समस्या होइन्, शवमा आगो सल्काउने अनी हिँडिहाल्ने प्रबृत्तिले पनि आधा जल्ने र आधा नजल्ने अवस्था रहेको प्रत्यक्षदर्शी कुसारीको भनाइ छ । “प्रत्येक शव जलाउदा मैले नहेरेको बिरलै होला, किनकी मेरो घर पनि नजिकै छ, घरको छतबाट सबै देखिन्छ”, उनले भने, “यहाँ सेता कपडा लगाएका २÷४ जना सेना आउनु भाएको हुन्छ ८÷१० जना आफन्त पनि हुनुहुन्छ । आफन्तलाई नजिक नै जान दिइँदैन सेना पनि आगो सल्काउँछ, हिँड्छ । यसले गर्दा पनि शव आधा जल्छ, आधा बाँकी नै रहन्छ ।”
केही शवहरूका हात नजलेको र कुकुरले तानिरहेको तथा शवका केही टुक्राहरू नदीमा बगिरहेको भेटिएकोले त्यहाँका नागरिकमा त्रास बढेको कुसारीले सुनाए ।
यस्तै दुखेसो तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ लाई सुनाएपछि केही सहयोग प्राप्त भयो । केही व्यवसायीहरूले डोजर पठाएपछि घाटको सरसफाई गरियो र त्यहाँ अहिले दैनिक ४÷५ वटासम्म सङ्क्रमितका शव जलाउने गरेका छन् ।