काठमाडौँ– शिल्पी कला समूहले ‘सट्टापट्टा’ मार्फत फेरि मुक्त रंगमञ्च यात्रा थालेको छ । खाद्यका लागि कृषि अभियानसँगको सहकार्यमा समूहले काठमाडौंपछि (असोज १४, १५, १६) देशका विभिन्न ठाउँमा नाटक मञ्चन गर्ने तयारी गरेको छ ।
१७ गते असोज लमजुङमा, १८ मा तनहुँमा मञ्चनपछि समूह पोखरा लाग्नेछ । असोज १९ मा पोखरामा मञ्चन गरेपछि चितवनमा असोज २०, २२ मा रौतहट, २३ मा सिन्धुलीमा, २४ मा महोत्तरी, २५ मा सुनसरी, २६ मा मोरङ र झापामा असोज २७ मा ‘सट्टापट्टा’ प्रस्तुत गर्नेछ ।
नाटकमा संगीता उराँव, स्मारिका फुयाँल, सुशीला विश्वकर्मा, ज्याक बराल, सुनिता गाहा मगर, रविन परियार, गोविन्द ओली, भकेन्द्र बिसी, हिमाल भुजेल, अनुप तिमल्सिना र प्रेमचन्द पाण्डेयको अभिनय छ ।
कृत्रिम खाद्य र कृत्रिम मलले मानिसको जीवन कसरी ध्वस्त बनाउँदैछ, देशको खाद्य प्रणालीलगायतका मुद्दा नाटकमा उठाइएको छ । शिल्पीले केही वर्ष सडक नाटक गर्यो । त्यसपछि कचहरी नाटक । अहिले मुक्त रंगमञ्चलाई अभ्यास गर्दैछ ।
मुक्त रंगमञ्चका लागि समूहले खुल्ला ठाउँलाई मञ्चका रुपमा प्रयोग गर्दै आइरहेको छ । खुल्ला ठाउँमा पनि नाटकघर झैं कलात्मक र व्यवस्थित गर्न सकिन्छ भन्ने प्रयासमा समूहले यस्तो रंगमञ्च गर्दै आइरहेको हो ।