किम जोङ इल, उत्तर कोरिया
उत्तर कोरियाका वर्तमान सवोच्च नेता किम जोङ उनका बाबु किम जोङ इलको प्रेमजीवन रोचक छ । सात वर्षको छँदै किमले आमा गुमाएका थिए । सौतेनी आमाको वात्सल्यबाट उनी सन्तुष्ट भएनन् । हुर्किएपछि उनको सम्बन्ध विभिन्न युवतीसँग जोडियो । सात जना युवतीसँगको उनको प्रेम सम्बन्ध बढी चर्चामा छ । ती सबैसँग उनको विवाहेतर सम्बन्ध थियो । उनीबारे विभिन्न किताब लेखेका इतिहासका प्राध्यापक तोसिमित्सु सिगिमारुका अनुसार प्रेमिकाहरूबाट उनले स्वर्गीय आमाबाट प्राप्त हुने वात्सल्य अपेक्षा गरेका थिए । अपेक्षा राखेर गरिएको प्रेममा निराशा हात पर्ने निश्चित थियो । अन्ततः किम पनि निराश भए ।
जापानकी महिला जादुगर तेन्को हिकितासँग उनको सम्बन्धबारे बढी चर्चा हुने गर्छ । किम उनीप्रति यतिबिघ्न आकर्षित भएका थिए कि उनले उत्तर कोरियामा तेन्कोको नाममा थिएटर नै स्थापना गरेका थिए । एक पटक तेन्को उत्तर कोरिया आइन् । किमले उनको भव्य खातिरदारी गरेका थिए । आलोचकहरूका अनुसार तेन्को उत्तर कोरियाबाट फर्किएर नजाऊन् भनेर किमले उनलाई अघोषित रूपमा नरजबन्दमा राखेका थिए । आफू पुनः फर्किएर उत्तर कोरिया आउने वाचा गरेपछि मात्रै किमले उनलाई जान दिएका थिए ।
महिलासँग उनको रसरंगबारे अनेक किस्सा प्रचलित छन् । तर, उत्तर कोरियाभित्रको कुरा बाहिर हत्तपत्त नआउने भएकाले ती किस्सा कति सही छन् भन्ने चाहिँ निक्र्योल हुन सकेको छैन ।
सद्दाम हुसेन, इराक
इराकी तानाशाह सद्दाम हुसेन प्रेमका मामिलामा त्यति चर्चित छैनन् । राजनीतिमा असाध्यै रुखा उनको प्रेमजीवन पनि रुखो नै थियो । केही स्त्रीसँग उनको नाम भने जोडिएको थियो ।
तीमध्ये एक युवती हुन्, पेरिसोला लाम्सोस । उनी ग्रिक मूलका लेबाननी व्यापारीकी छोरी हुन् । सन् १९६८ मा उनीहरूको चिनापर्ची भएको थियो । चिनापर्ची बढ्दै गएर प्रेममा परिणत भएको थियो । यद्यपि, प्रेमलाई भन्दा राजनीतिलाई बढी प्राथमिकता दिने सद्दाम बिस्तारै लाम्सोससँग टाढिए । तर, इराककै एक जना व्यापारीसँग बिहे गरेर लाम्सोसले बग्दादमा गृहस्थी सुरु गरेपछि उनीसँगको आसक्ति सद्दाममा पुनः जाग्यो । उनलाई हासिल गर्ने दिशामा उनका पति तगारो बनेको महसुस गरेर सद्दामले पतिलाई अनेक बहाना बनाएर जेलमा हाले । त्यसपछि लाम्सोसलाई जबर्जस्ती आफ्नो दरबारमा लगेर प्रेमिका बन्न बाध्य तुल्याए ।
सद्दामको पञ्जाबाट मुक्त भएपछि लाम्सोसले सद्दामको गोप्य हर्कतबारे भण्डाफोर गरिन् । आफूलाई विशुद्ध यौन तृप्तिका लागि सद्दामले प्रयोग गरेको र आफू जस्तै अन्य युवतीबाट पनि उनले त्यस्तो तृप्ति लिने गरेको खुलासा सरिन् । सद्दामको घरमा रहँदा सद्दामका एक जना छोराबाट समेत आफू बलात्कृत भएको उनले बताइन् । सद्दामको सम्बन्ध समिरा साहबन्दर नाम गरेकी एक जना विवाहित महिलासँग पनि थियो । समिराका श्रीमान्लाई लोभ र डर देखाएर छोडपत्र गर्न लगाई सद्दामले समिरासँग बिहे गरेका थिए ।
हिटलर, जर्मनी
प्रेम र यौनको मामिलामा संयमित तानाशाहमा पर्थे, जर्मनीका शासक हिटलर । आफ्ना सैनिकलाई पनि उनले यौनको मामिलामा संयमित बनाएका थिए । दोस्रो विश्वयुद्धमा दिग्विजय र पराजय दुवैको अनुभव सँगालेको जर्मन सेना छ वर्ष लामो युद्ध अवधिमा बलात्कारसम्बन्धी ठूलो विवादमा नमुछिएको तथ्यले पनि उनले आफू र आफ्ना समर्थकहरूलाई यौनमा कतिबिघ्न संयमित बनाएका थिए भन्ने पुष्टि गर्छ ।
उनी एकाध युवतीसँग प्रेममा चाहिँ रहे । गेली रुबल नाम गरेकी नातागोताभित्र पर्ने एक जना युवतीलाई उनी एकतर्फी प्रेम गर्थे । तर, गेलीले आत्महत्या गरेपछि उनको प्रेम अधुरो रह्यो ।
राजनीतिमा लागेपछि उनी इभा ब्राउन नाम गरेकी युवतीसँग प्रेममा परे । यसपटकको उनको प्रेम चाहिँ दुईतर्फी थियो । इभा पनि हिटलरलाई मन पराउँथिन् । तर, युद्धको कठोर यात्रामा लागेका हिटलरले प्रेममा रत्तिएर रोमान्स गर्न पाएनन् । उनले प्रेमलाई भन्दा बढी प्राथमिकता युद्धलाई दिएका थिए । आफूले करिश्मायुक्त व्यक्तित्व बनाउन सकेमा जर्मन नागरिकहरूलाई युद्धका निम्ति सजिलै प्रोत्साहन गर्न सकिन्छ भन्ने ठानेर यसैका लागि उनले आफ्नो प्रेमजीवनलाई सुनियोजित रूपमा छायामा पार्ने काम गरे । आफूलाई व्यक्तिगत मायामोहबाट विरत देखाउन चाहन्थे, उनी । त्यसैले उनले इभासँग बिहे गरेनन् । न त उनीसँगको प्रेमसम्बन्ध सार्वजनिक नै गरे । उनी देशको स्वार्थका सामु सबै खाले व्यक्तिगत आकांक्षालाई तिलाञ्जली दिएको देखाउन चाहन्थे । त्यसैले उनले प्रेमिकालाई आफूसँग रहन त परै जाओस्, राजधानी बर्लिन आउन पनि रोक लगाएका थिए । हिटलरले बर्लिनबाट शासन गरिरहँदा इभा जर्मनीको बभारिया राज्यमा बस्थिन् । युद्धमा जर्मनी पराजित भएपछि र आफ्नो पतन हुने निश्चित देखेपछि मात्रै हिटलरले इभालाई बर्लिन बोलाएका थिए । इभा बर्लिन आएलगत्तै उनीहरूले बिहे गरे । बिहे गरेकै रात वरिपरिबाट रुसी र अमेरिकी फौजले घेरा हालेको बंकरमा दुवैले आत्महत्या गरे । कठोर र हिंस्रक तानाशाह हिटलर र इभाको प्रेमलाई चरम वियोगान्त प्रेमका रूपमा संसारभर स्मरण गर्ने गरिन्छ ।
मुसोलिनी, इटाली
दोस्रो विश्वयद्धताका इटालीका तानाशाह रहेका फासिस्ट नेता मुसोलिनीको प्रेम र यौन जीवन आलोचित छ । उनी क्लारा पेट्टासी नाम गरेकी युवतीसँग प्रेममा थिए । क्लाराले लेखेको डायरीमा मुसोलिनीको गोप्य जीवनबारे पर्याप्त प्रकाश पारिएको छ ।
क्लाराका अनुसार बेला–बेलामा मुसोलिनीमा यौन उत्तेजना सञ्चार हुँदैन थियो । उनी लिंग उत्थित नहुने समस्याबाट ग्रस्त हुने गर्थे । यसले उनमा हीनग्रन्थी विकास गराएको थियो । यस्तो हीनताबोध शमन गर्न उनी एकैदिन अनेक युवतीसँग सम्भोग गर्न तम्सिन्थे ।
उनी इटालीको शासक बनेपछि उनलाई भेट्न भनेर दरबारमा अनेक युवती आउने गर्थे । तीमध्येमा उनीसँग सम्भोग गर्न आएका युवती पनि हुन्थे । क्लाराले डायरीमा आफूसँग मुसोलिनीले एक दिनमा चार जनासम्म महिलासँग सम्भोग गरेको खुलासा गरेको उल्लेख गरेकी छिन् । श्रीमतीसँग भन्दा बढ्ता क्लारासँग मुसोलिनी निकट थिए । दोस्रो विश्वयुद्धको सँघारतिर मुसोलिनीकी श्रीमतीले इटालीबाट भाग्ने अनेक चेष्टा गरिन् । क्लारा चाहिँ अन्तिमसम्मै मुसोलिनीसँगै प्रतिबद्ध भएर रहिन् । युद्धमा इटाली पराजित भएपछि मुसोलिनी र क्लारा दुवैलाई पक्राउ गरी मृत्युदण्ड दिइयो । मृत्युपछि फेला परेको क्लाराको डायरीबाट मुसोलिनीको प्रेम र यौनजीवनमाथि प्रकाश परेको छ ।
मुअम्मर गद्दाफी, लिबिया
रोचक प्रेमजीवन भएका तानाशाहमा पर्छन्, लिबियाका शासक मुअम्मर गद्दाफी । उनी सुन्दरीहरूबाट घेरिएर रहन रुचाउँथे । तर, तानाशाह भएकाले सुन्दरीहरूबाट नभई अंगरक्षकबाट घेरिन उनी बाध्य थिए । यस्तोमा उनले उपाय निकाले । सुन्दर युवतीहरू मात्रै आफ्ना अंगरक्षक बन्न पाउने व्यवस्था गरे । उनको अंगरक्षकमध्ये भित्री तहमा रहेर उनको सुरक्षा गर्नेमध्ये सबैजना महिला हुनुपर्ने नियम उनले ल्याए । लिबियामा चर्किएको विद्रोहका कारण उनी सत्ताच्युत नहुँदासम्म सुन्दर कन्याहरूले उनको गाथको सुरक्षा गरिरहे ।
उनका अंगरक्षकहरू सुन्दर भएर मात्र हुँदैन थियो, उनीहरू कुमारी पनि हुनुपथ्र्यो । उनीहरू कुमारी रहे÷नरहेको अन्तिम छिनोफानो गद्दाफी स्वयंले गर्थे । अंगरक्षकमा नियुक्त भएपछि उनीहरूलाई सबै खाले शस्त्रअस्त्रमा निपुण बनाइन्थ्यो । गद्दाफीप्रती पुरै समर्पित हुनेगरि उनीहरूलाई मानसिक रुपमा तयार बनाइन्थ्यो । एक पटक गद्दाफीमाथि गोली प्रहार हुँदा ती युवतीले मानवसाङ्लो बनाएर गद्दाफीको रक्षा गरेका थिए । गाथ जोगाएका थिए । यस क्रममा केहीको मृत्यु भएको थियो ।
बेलायत र फ्रान्सको हवाई सेनाले लिबियामाथि आक्रमण गरेपछि सत्ताच्युत भएका गद्दाफीलाई अन्ततः विरोधीहरूले पक्राउ गरी कुटीकुटी मारे । त्यसपछि विभिन्न ठाउँमा रहेका उनका आवासको खानतलासी लिइयो । उनका आवासबाट अमेरिकी पूर्व विदेशमन्त्री कोन्डालिजा राइसका तस्बिर र पेन्टिङहरू बरामद भए । अफ्रिकी मूलकी कोन्डाजिलाप्रति आफू नतमस्तक रहेको कुरा अफ्रिकी मुलुक लिबियाका तानाशाह गद्दाफीले जीवित छँदै पटक–पटक बताएका थिए । मृत्युपछि उनको आवास र बेडरुमबाट बरामद भएका तस्बिर र पेन्टिङले गद्दाफी कोन्डालिजाप्रति आसक्त थिए भन्ने पुष्टि भयो ।