उँचो शिर

प्रकाशचन्द्र खतिवडा     ०४ मंसिर २०८२, बिहिबार
उँचो शिर स्केचः एआई

भाँच्चिएको मन बोकेर 
मान्छे भौतारिन्छ 
नग्न सडकमा ओहोर दोहोर गर्दै,
जिजीविषा कुल्चिएर
मृतालय धाउँछ 
जिन्दगीको भारि बिसाउँन ।

म आन्दोलित  छु 
मान्छेहरुको मन  जित्न 
मलाई मृत्युले दपेट्छ 
म प्रतिकार गर्छु 
मृत्यु हारेर जान्छ 
म एक कदम अगाडि बढ्छु । 

तिमी भूत संग डराउँछौ 
म भविषय सगं डराउँछु 
वर्तमान हाम्रो हातबाट खोशेर 
समय भूमिगत भएकको छ 
हामीलाई दिशाहीन बनाएर
हामीले खोज्नु छ 
हराएको आफ्नै समय 
मेटिएको आफ्नै अनुहार 
रोप्नु छ  नयाँ विउ 
उमार्नु छ सृजनाको फूल 
फलाउनु छ एकताको फल 
धरतीलाई तन्मयले सिञ्चन गरी  ।

हाम्रो आस्था मारिएको छ 
खोशिएका छन हाम्रा सपना 
भाग्यलाई दोषी देखाएर 
लुटिएका रहेछन हाम्रा श्रम र पसिना 
नयन  झुकाई 
जदौ हजुर गर्दा पनि 
खुशी हुँदैन मालिक
पुग्दैन काम 
पशुवत व्यहार देखाउँदै 
हामी माथि हुकुम चलाउँछ 
हाम्रो अपमान गर्ने गरी ।

मान्छेले धैर्यता गुमाएको छ 
मनहरु त भाँच्चि सके 
नग्न सडकमा भौतारिएर
जिजीविष कुल्चे पछि  
हराएको भविष्य कसरी खोज्ने ? 
जिन्दगीको भारि कसरी विसाउने ?
संकट मोचन हुनै नसकी 
दलदलमा फसाइएको छ मान्छे । 

मान्छेले मान्छेकै शिकार गर्छ 
आत्मग्लानी छैन 
न कुनै पश्चाताप ?
आत्मरतिमा रमाउँदै मान्छे 
अहंकारको डम्फु  बजाउँछक् ।

युद्ध हारेको सिपाही जस्तो 
मैले आत्मसमर्पण गर्नु हुन्न 
म शेरिन तयार रहुँला 
मेरो उँचो शिर कदापि झुक्ने छैन ।

सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
९८४२०७३५२५

kpchandra2023@gmail.com

प्रतिक्रिया