काठमाडौं – आईसीसी टी–२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार नेपालले विश्वकपको दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको हो । नेपालले यसअघि भारतको चेन्नाईमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो ।
नेपालले बिहीबार चेन्नाईकै एमए चिदम्बरम क्रिकेट रंगशालामा क्यानडाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका ओपनर आसिफ सेखले सर्वाधिक ५८ रन बनाए । आसिफले २९ बलमा ६ चौका र तीन छक्का प्रहार गरे । सन्दीप जोराले ४४ रन जोडे । सन्दीपले ३० बलमा चार चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले ३१ रन जोड्दा ओपनर कुशल भुर्तेलले १२ रन जोडे ।
क्यानडाका जसकरन सिंह, साद बिन जफर र अजयभिर हुँदालले समान एक विकेट लिए । क्यानडाका निम्ति ओपनर नभ्नीत धलिवालले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा एक चौका र तीन छक्का प्रहार गरे । अविजीत रहेका श्रेयस मोभाले ३८ रन जोडे । उनले १९ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कनवारपाल तथगुरले २५ रन जोडे । उनले २४ बलमा दुई चौका र एक छक्का प्रहार गरे । जसकरण सिंहले २१ रन जोड्दा निकोलस किर्टानले १० रन बनाए ।
नेपालका कुशल भुर्तेल र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने यस संस्करणमा नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ ।