काठमाडौँ–नाटकमा अभिनय गर्दागर्दै सुलक्षण भारतीले थिएटर खोल्ने सपना सजाए । गोजीमा सुको दाम थिएन । उद्देश्य भने रङ्गमञ्च जीवन्त बनाउने थियो ।मण्डला थिएटरमा नाट्यकर्मी हुँदाहुँदै सुलक्षण मण्डलाबाट निस्क्रिय भए र उनले समूह छोडे । भक्तपुरको घर बेचे । घर बेचेर सिनाङ्गलस्थित निजी जग्गामा नयाँ थिएटर बनाए र नाम राख्नुभयो, ‘पुरानो घर’ । ‘पुरानो घर’ कोभिड महामारी आउनु अघि तयार भएको थियो । केही नाटक मञ्चन पनि भए । तर, सुलक्षणलाइ पुरानो घर ताजा बनाइरहने पटक्कै सजिला भएन । आर्थिक अभावकै कारण थिएटर जोगाउन चुनौतिको सामना गरिरहेका छन् । ‘घरै बेचेर नाटक घर बनाएँ, बचाउन हम्मेतम्मे छ’, उनी भन्छन्, ‘कसैबाट अनुदानै नलिई नाटक चलाउन सकिने अवस्था छैन ।’
सुलक्षणका अनुसार प्रत्येक वर्ष नाटक मञ्चन गर्न कम्तीमा पाँचदेखि छ लाख लगानी लाग्छ । दर्शकले टिकट काटेर हेर्दैमा आम्दानी हुँदैन । कसैको प्रायोजनमा काम गर्दा आफ्नो नाटकीय मौलिकता बेच्नुपर्ने बाध्यता हुन्छ । त्यसैले उनी गैर सरकारी संस्थाको सहयोगमा नाटक मञ्चन गर्ने पक्षमा छैनन् । यसमा सुलक्षणको आफ्नै तर्क छ । उनी भन्छन्, ‘कुनै पनि सङ्घ संस्थाले नाटक मञ्चन गर्न बजेट दिँदैमा म गर्दिन, किनकी यहाँ हाम्रो रङ्मञ्चको मौलिकता माथि हस्तक्षेप हुन्छ । जुन गलत हो ।’ सुलक्षणले थिएटर सञ्चालन गर्दा घाटा लागेर मासिक रु ८० हजार ब्याजमात्रै तिर्दैआएको बताए । यद्यपी रङ्गकर्मप्रतिको उहाँको दायित्व भने थपिएको छ । फिल्म उत्पादन गर्ने, स्कुलमा पढाउने जस्ता बाहिरी आर्यआर्जनको काम गरेर भएपनि थिएटर जोगाए।
रङ्मञ्चमा झन्डै दुई दशकभन्दा बढी अनुभव सङ्गालेकी सरीता गिरीका अनुसार रङ्गकर्मी नटिक्नु मुख्य चुनौति हो । नाटक मनोरञ्जनका रुपमा लिनु र केही समय चर्चा कमाउनुले सच्चा रङ्गकर्मी भन्न नसकिने उनको भनाइ छ । यस क्षेत्रलाई व्यवसायिक बनाउन विश्वविद्यालय स्तरमा अध्ययन गराउनुपर्ने उनको तर्क छ । ‘त्यसो गर्न सकेमात्र विद्यार्थीको भविष्य सुनिश्चत हुनसक्छ तर, हामीकहाँ स्कुलिङको समस्या छ,’ उनले भनिन्, ‘रङ्कर्मी जन्मिनु नौलो कुरा भएन, सर्मपित बनिरहन सक्नु मूल विषय हो ।’ विगतमा गुरुकुलको विद्यार्थी जस्तो रङ्गमञ्चमा सक्रिय हुने पुस्ता पाउन कठिन रहेको सरिता बताउँछिन्।
उपत्यकाभित्र मण्डला थिएटर, सर्वनाम थिएटर, किर्तिपुर रङ्गमञ्च, कौशी थिएटर, पुरानो घर, गुरुकुललगायत थुप्रै थिएटर खोलिएका छन् । पुरानो घर बाहेक प्रायः सबै थिएटर भाडामा सञ्चालित छन् । पाका नाट्यकर्मी रमेश रञ्जन झाका अनुसार रङमञ्च फिल्म जस्तो उद्योगको रुपमा विकास हुन सक्दैन । ‘रङ्गमञ्च टिकाउने राज्यले नै हो,’ उनी भन्छिन्।
नेपालको रङ्गमञ्चको इतिहास हेर्ने हो भने राज्य आश्रित र जनआश्रित गरी दुई स्तरबाट सञ्चालित हुन्थे । राज्यले लगानी गरेर विगतमा रङ्मञ्च जोगाउने परम्परा थियो । अहिले राज्य निस्क्रिय जस्तै छ । केही युवा रङ्गकर्मीले सौखको रुपमा रङ्गमञ्च जोगाएपनि यसको निरन्तरता कहिलेसम्म भन्ने चुनौति रहेको रमेश रञ्जन बताउँछन् । ‘रङ्मञ्च जनसेवा हो, राज्यले नै संरक्षण गर्न जरुरी छ,’ रञ्जनले भने, ‘उपत्यका बाहिर त रङ्गमञ्च हराईसक्यो ।’
सर्वनाम थिएटरका संस्थापक अशेष मल्लसँग नेपालको रङ्गमञ्चको प्राचीन र समकालीन दुवै अनुभव छ । उनलार्इ युवा पुस्तामा मौलाउँदो रङ्गकर्मको ऊर्जा जोगाउन नसिकने हो कि भन्ने चिन्ताले सधै सताइरहन्छ । ‘टिकाउने आधार राज्यको संरक्षण हो’, उनी भन्छन्, ‘व्यक्तिगत रुचिले कहिलेसम्म रङ्मञ्च धानिएला र ?’ त्यस्तै, प्रत्येक स्थानीय तहमा एउटा रङ्मञ्च सञ्चालन हुनुपर्ने उनको जिकिर छ । नाटक अन्य मनोरञ्जनका विधाभन्दा फरक छ । यसले जनतालाई रचनात्मक तरिकाले शिक्षित गराउन मद्दत गर्छ । यति महत्वपुर्ण विधाको स्थायित्व नहुनु विडम्बना रहेको उनको भनाइ छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राज्यले बजेट बढाउनुपर्नेमा उल्टै घटेको छ । प्रतिष्ठानमा नाट्य, सङ्गीत, शास्त्रीय, लोक नृत्य, शास्त्रीय सङ्गीत र नृत्य गरी छ विधा छन् । प्रत्येक विधामा वर्षभरीको रु छ लाख मात्रै सरकारले बजेट छुट्याएको छ । गत वर्षदेखि रु आठ लाख बाट बजेट घटेर छ लाखमा पुर्याइएको प्रतिष्ठानकी कुलपति निशा शर्मा बताउँछिन्। ‘वर्षभरीमा रु छ लाखले कस्तो काम गर्न सकिएला ?’ उनले उल्टै प्रतिप्रश्न गरे।
बुधबार विश्व रङ्मञ्च दिवस मनाइरहँदा नेपालका रङकर्मीले आर्थिक झमेला हटाउने विषयमा विमर्श गरिरहेका छन् । विसं २०४० साल यता नाटकमा सङ्ख्या वृद्धि भएपनि गुणस्तर खस्किँदै गएको कुलपति शर्मा सुनाउँछिन् । व्यापारिक दृष्टिले रङ्कर्ममा लाग्नु रहर नभई बाध्यता हो । यद्यपी उत्कृष्ट नाट्य सिर्जना गर्न लगानी कै भूमिका हुने कुलपति शर्मा बताउँछिन्। ‘राज्यले बजेट बढाएर, रङ्कर्मीको भविष्य सोच्न सक्नुपर्छ,’ उनले भने, ‘व्यक्तिकै भरमा रङ्गकर्म अघि बढाउँछु भन्नु परालको आगो जस्तै हो ।