काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पारेको छ ।
रास्वपाले समानुपातिक उमेदवार चयनका निम्ति आवेदन आह्वान गरिसकेको छ । समानुपातिक उमेदवार बन्न पार्टीमा आवेदन दिने क्रम बढेको उमेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यले जानकारी दिए ।
रास्वपाले चुनावी तयारीस्वरूप औपचारिक, अनौपचारिक बैठक जारी राखेको छ । रास्वपाले समानुपातिक उमेदवारका निम्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको छ । विपन्न आवेदनकर्ताका निम्ति पार्टीले छुट्टै व्यवस्था गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अवलम्बन गर्ने उमेदवार छनोट प्रक्रियामा संवैधानिक प्रावधान, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, दलको विधानलगायत विषयलाई आधार मानी केही योग्यतालाई सर्तका रूपमा राखेको छ ।
पार्टीले समानुपातिक उमेदवारको बन्दसूची तयारी गर्दा नेपालको संविधान, कानून तथा निर्वाचन आयोगको दिशानिर्देशलाई पूर्ण सम्मान गर्दै समावेशी लोकतन्त्र, संघीय सन्तुलन, आचार–नीति, नवोदय नेतृत्व र मापनयोग्य वस्तुपरकतामा अग्रसर गर्ने अतिरिक्त मानक अपनाउने जनाएको छ ।
उमेदवार छनोट र पार्टीमा विचार मिल्ने व्यक्तिलाई जोड्न आफूहरू केन्द्रित रहेको सहमहामन्त्री आचार्यले जानकारी दिए ।
चुनाव नजिकिएसँगै साना दलले ध्रुवीकरण बढाइरहेका बेला रास्वपाले भने उमेदवार छनोट र पार्टीमा व्यक्ति जोड्ने विषयलाई प्राथमिकतामा राखेको उनले बताए ।