मन्त्रीज्यू, राजनीति र सत्ता सधैँ कसैको हातमा रहिरहँदैन। समय परिवर्तन हुन्छ, शक्ति परिवर्तन हुन्छ र नेतृत्व पनि परिवर्तन हुन्छ। त्यसैले अर्को शक्ति आउँछ, अर्को अवसर पाइन्छ भन्ने सपना देखेर वर्तमान जिम्मेवारीबाट पन्छिने काम नगर्नुहोस्। अहिले तपाईंलाई अधिकार, अवसर र जिम्मेवारी दिइएको छ। जनताले खोजेको जवाफ भाषण होइन, परिणाम हो।
प्रधानमन्त्रीले एउटा सोच, एउटा उद्देश्य र एउटा प्रतिबद्धताका साथ सरकार सञ्चालन गर्न खोजिरहनुभएको छ। तर मन्त्रीहरूको कार्यशैली, व्यवहार र कार्यक्षमताले प्रधानमन्त्रीको नेतृत्वलाई नै कमजोर बनाउने अवस्था आउनु दुःखद हो। प्रधानमन्त्रीको उद्देश्य सफल बनाउने कि आफ्नै व्यक्तिगत स्वार्थ र अहंकारको राजनीति गर्ने?
अहिले जनताले सोधिरहेका छन्–तपाईंहरूले मन्त्री बनेपछि देखिने गरी के काम गर्नुभयो? कुन क्षेत्रमा सुधार ल्याउनुभयो? जनताले महसुस गर्ने परिवर्तन के हो? महँगी, बेरोजगारी, बजारको अवस्था र सर्वसाधारणको दैनिक जीवनका समस्याबारे तपाईंहरूको ठोस काम कहाँ छ?
पहिलेका सरकारमा आफ्ना आफन्त, साली, भाइ, भतिजा र नातागोतालाई अवसर दिएको भन्दै आलोचना हुन्थ्यो। अहिले पनि आफ्ना निकट सम्बन्ध र व्यक्तिगत पहुँचका आधारमा प्रेमिका वा अन्य आफन्तलाई जागिर दिलाएको भन्ने प्रश्न सार्वजनिक रूपमा उठिरहेका छन्। यदि यस्ता विषयमा प्रश्न उठेका छन् भने त्यसको पारदर्शी जवाफ दिनुहोस्। पुरानो प्रवृत्तिको विरोध गरेर सत्तामा पुग्ने अनि त्यही प्रवृत्ति दोहोर्याउने हो भने परिवर्तनको अर्थ के रह्यो?
तपाईंहरूको सबैभन्दा ठूलो समस्या दोहोरो मापदण्ड, आत्मकेन्द्रित सोच र अहंकार देखिन्छ। आफूलाई मात्र योग्य र विद्वान् ठान्ने, अरूको विचारलाई सम्मान नगर्ने र जिम्मेवारीभन्दा आफ्नो प्रतिष्ठालाई ठूलो मान्ने प्रवृत्तिले सरकार चल्दैन।
याद राख्नुहोस्, संसारमा समय कसैका लागि रोकिँदैन। आज तपाईंको हातमा भएको शक्ति भोलि अर्काको हातमा हुन सक्छ। त्यसैले भविष्यमा कसले सत्ता सम्हाल्छ भन्ने कल्पना गर्नुभन्दा अहिले पाएको जिम्मेवारी पूरा गर्नुस्।
अरूको कमजोरी देखाउनुअघि आफ्नो कार्यसम्पादन देखाउनुस्। अरूको राजनीतिक इतिहास खोतल्नुअघि आफ्नो वर्तमानको हिसाब दिनुस्। संकट पर्दा अरूले कसरी सुरक्षित बाटो रोजे भन्ने चर्चा गर्नुभन्दा आफूले जनताका लागि के गर्नुभयो भन्ने जवाफ दिनुस्।
प्रधानमन्त्रीलाई असफल बनाउने काम तपाईंहरूको व्यक्तिगत अहंकार, गुटबन्दी र दोहोरो चरित्रले नगरोस्। सरकार एउटा व्यक्तिको मात्र हुँदैन, यो सामूहिक जिम्मेवारी हो। प्रधानमन्त्रीको नेतृत्वमा बनेको सरकारलाई सफल बनाउने हो भने मन्त्रीहरूले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ।
मन्त्रीज्यूहरू, पद पाउनु उपलब्धि होइन, पदअनुसार काम गरेर जनताको विश्वास जित्नु उपलब्धि हो।
अहिले पाएको अवसरमा काम गर्नुस्। जनताको धैर्यको परीक्षा नलिनुस्। अर्को पटक अवसर पाइन्छ कि पाइँदैन, अर्को शक्ति आउँछ कि आउँदैन भन्ने कुरा समयले बताउला। तर आज तपाईंलाई दिएको जिम्मेवारीको मूल्याङ्कन इतिहास र जनताले अवश्य गर्नेछन्।
घमण्डले पद जोगिँदैन, अहंकारले नेतृत्व टिक्दैन र भाषणले देश बन्दैन। काम गरेर देखाउनुस्, नत्र पदमा बसिरहनुको औचित्य आफैँ कमजोर हुँदै जान्छ।