निर्वाचनमैत्री होली मनाऔँः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

राम्रो अनलाइन     १५ फागुन २०८२, शुक्रबार
निर्वाचनमैत्री होली मनाऔँः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

पर्सा–कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समग्र मुलुकभरिमा निर्वाचनको तयारी सौहार्दपूर्ण वातावरणमा अघि बढिरहेको बताएका छन्। पर्सा र बारा जिल्लाको ‘निर्वाचन सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा अहिले मुलुकभरि निर्वाचनमैत्री वातावरण बन्दै गइरहेको उनले उल्लेख गरे। 

“अहिले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना न्यून रहेका छन् । निर्वाचन प्रचारप्रसारमा मितव्ययीता कायम भएको छ । एकले अर्कोलाई निषेधको राजनीति गर्न खोजे पनि सोको बेलैमा पहिचान भएर कम गर्न सकिएको छ”, उनले भने, “त्यो निषेधको राजनीति अहिले निषेध भएको छ ।” 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले विगतको तुलनामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको दाबी गरे। “होली, निर्वाचन आचारसंहिता र निर्वाचनलाई सँगसँगै लैजादैँछौँ”, उनले भने, “निर्वाचनमैत्री होली मनाउन आयोग सम्पूर्णलाई अनुरोध गर्दछ ।”

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले होलीलाई तड्कभड्कयुक्त नभएर निर्वाचनमैत्री, शान्तिपूर्ण र सौहार्दपूर्ण ढङ्गले मनाइदिनका लागि आह्वान गरेका छन्। “होली र निर्वाचन सँगसँगै अघि बढाउने छौँ । यसको सबैको साथ र सहयोग अनिवार्य छ”, उनले भने, “केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । सोबारे अध्ययन गरी थप आवश्यक कारबाही प्रक्रिया अघि बढाएका छौँ ।”

प्रतिक्रिया