भारतीय धर्मगुरुहरूको पक्राउ र अपराध प्रमाणित हुनुले कुनै एक व्यक्ति र सम्प्रदाय सम्बद्ध क्षेत्रलाई मात्र असर गरेको छैन। यसले हिन्दू धर्म–संस्कृतिमा नै जटिलता थपिरहेको छ। त्यति मात्र होइन, यस्ता घटनाले सिंगो अध्यात्म क्षेत्र नै बदनाम हुने अवस्था सिर्जना हुँदै गएको छ।
केही वर्षयता भारतीय धर्मगुरुहरू विभिन्न अपराधका आरोपमा पक्राउ परिरहेका छन्। उनीहरूको पक्राउ र अदालतबाट दोषी करार हुनुसँगै धार्मिक क्षेत्र र विषय तरंगित भएका छन्। भारतीय धर्मगुरुहरूको प्रभाव नेपाली समाजमा समेत रहेको हुँदा उनीहरूको पक्राउले यहाँ पनि बहस सिर्जना हुनु स्वाभाविकै हो। पछिल्लो समय भारतीय धर्मगुरु मात्र होइन, नेपाली धर्मगुरुका रूपमा ख्याति कमाएका रामबहादुर बम्जनमाथि पनि बलात्कारको आरोप लागेको छ।
कानुनी राज र विधिको शासनले हरेकलाई दण्ड–सजायको व्यवस्था गरेको हुन्छ। अपराध गर्ने÷गराउनेलाई दण्डित गर्नु राज्यको दायित्व पनि हो। दण्ड–सजायको सिलसिला चलिरहन्छ। विकास र सभ्यताको चरमचुलीमा पुगेका राष्ट्रदेखि अल्पविकसित र अविकसित राष्ट्रमा समेत प्रत्येक दिन हजारौं मानिस दण्डका भागीदार भइरहन्छन्। यसरी हेर्दा केही धर्मगुरु अपराधको आरोपमा छानबिनमा पर्नु वा दण्डित हुनुलाई स्वाभाविक नै भन्न सकिएला। तर, अन्य व्यक्ति दण्डित हुनु र धर्मगुरु दण्डित हुनुमा ठुलो अन्तर छ। किनकि, धर्मगुरुको समाजमा उच्च स्थान हुन्छ। उनीहरूले सिंगो समाजलाई मार्गनिर्देश गर्छन् भन्ने लोकबुझाइ छ।
कुमार्गमा हिँडेको मानिसलाई सुमार्गमा ल्याउने भनिएको मानिस आफैँ कुकर्मका कारण दण्डित भएपछि ऊप्रतिको आस्था र विश्वास हराएर जान्छन्। मानिसहरू अक्सर कहीँकतैबाट आफूलाई सम्हाल्न नसक्ने वा आफ्नो समस्या आफ्नो बुताभन्दा बाहिर गएको महसुस भएपछि धर्मगुरुको शरणमा जान्छन्। अर्काेतर्फ स्वर्ग, मुक्ति वा परमात्मा प्राप्तिको चाह राख्नेका लागि पनि धर्मगुरु नै मार्गनिर्देशक बन्न पुग्छन्। यस लोकको सुख, सन्तोष र शान्ति तथा परलोकको मुक्तिमा समेत धर्मगुरुहरू सहयोगी मानिन्छन्। यी सबै परिदृश्यले आम मानिसको समस्या समाधानका लागि धर्मगुरु अन्तिम विकल्पजस्ता देखिन्छन्। ्
धर्मगुरुहरूको पक्राउ र अपराध प्रमाणित हुनुले कुनै एक व्यक्ति र सम्प्रदाय सम्बद्ध क्षेत्रलाई मात्र असर गरेको छैन। यसले हिन्दू धर्म–संस्कृतिमा नै जटिलता थपिरहेको छ। त्यति मात्र होइन, यस्ता घटनाले सिंगो अध्यात्म क्षेत्र नै बदनाम हुने अवस्था सिर्जना हुँदै गएको छ।
सिद्धि प्राप्त गरेका, आत्म रूपान्तरण भएका वा आध्यात्मिक सामथ्र्यले शक्तिशाली भएका भनिएका धर्मगुरुहरू किन यसरी अपराधी करार भइरहेका छन् ? परमात्मासँग साक्षात्कार भएका भनिएका व्यक्ति यसरी बदनाम हुनाको कारण के हो ? जसले सम्पत्ति, यौन वा नश्वर जीवनलाई महŒव नदिन अरूलाई अपिल गरिरहेका थिए, उनीहरू स्वयं नै तिनै विषयका कारण जघन्य अपराधी हुनाको कारण के हो ? करोडौँ मानिस दुःख अन्त्य गरिदिने आशामा जसको पछिपछि लागिरहेका छन्, स्वयं ऊचाहिँ तुच्छ तृष्णा र सांसारिक वृत्तिका कारण बर्बाद भइरहेको छ। किन ? के उनीहरू वास्तवमै गुरु भइसकेका थिए ? के ती गुरु भनिएका मानिस आध्यात्मिक थिए ? आत्म रूपान्तरित भइसकेका वा मुक्तिबोध गरिसेकका वा निर्वाणमा पुगिसकेका मानिस थिए ?
गुरु को हो ? गुरु र शिक्षकमा के फरक छ ? कुनै व्यक्ति गुरु बन्नका लागि ऊ कस्तो चेतना वा सामथ्र्यबाट गुज्रनुपर्छ ? धर्मगुरुका रूपमा प्रचारित व्यक्तिहरूसँग सम्बन्धित भ्रम र यथार्थ के हो ? कुनै साम्प्रदायिक गुरु र आध्यात्मिक गुरुमा के फरक छ ? धर्म र अध्यात्म एउटै र उस्तै हुन् कि फरक छन् ? यी र यस्ता विषयमा छलफल गर्नु जरुरी भइसकेको छ। आम मानिसमा शिक्षक र गुरुबीचको पृथक्ता बोध छैन। अध्यात्म र धार्मिक सम्प्रदायबीचको फरक थाहा छैन। जसको परिणाम एक साम्प्रदायिक गुरु बदनाम हुँदा सम्पूर्ण आध्यात्मिक क्षेत्रले पनि चोट सहनुपरिरहेको छ। तसर्थ अहिले पक्राउ परेका गुरु, बाबा वा तान्त्रिकका विषयमा खुलेर बहस गर्नुपर्छ।
अध्यात्मका दुई चरण
अध्यात्ममा दुई चरण हुन्छन्। मुक्त वा रूपान्तरण भइसकेको एउटा र मुक्ति वा रूपान्तरणतर्फ उन्मुख भएको अर्काे। अझ बुद्ध दर्शनले यसलाई स्रोतापन्न, सकृदागामी, अनागामी र अर्हत् गरी चार चरणमा बाँडेकोे छ। अर्हत् अर्थात् पूर्ण रूपान्तरण नहुँदासम्म व्यक्तिमा अहंकार र सेक्सको तृष्णा बाँकी नै रहन्छ। स्रोतापन्न हुँदै सकृदागामी र अनागामीसम्मका चरणमा मानिसले क्रोध, लोभ, रिस, मोहलगायत विषयलाई जितिसकेको पनि हुन सक्छ। तर, उसले अहंकार र सेक्समा विजय प्राप्त गरेको हुँदैन। अहंकार र सेक्सलाई विजय प्राप्त गरिसकेको अवस्था पूर्ण रूपान्तरण वा मुक्तिको अवस्था हो।
अहंकार मस्तिष्कको समस्या हो भने यौन दिलको समस्या। अहंकार बुद्धिप्रधान हुन्छ भने सेक्स भावप्रधान हुन्छ। अहंकारका कारण आफूलाई आध्यात्मिक मानिस बताउने व्यक्ति (गुरु भन्ने अर्थमा) आफ्नो मार्ग, विधि र पन्थलाई संसारकै श्रेष्ठ दाबी गर्छ। त्यति मात्र होइन, आफूलाई भगवान् नै घोषित गर्छ/गराउँछ। सेक्सका कारण ऊ बलात्कारजस्तो जघन्य अपराध गर्नसमेत पछि पर्दैन।
मुक्त भएको, ब्रह्म साक्षात्कार गरेको वा अर्हत् भइसकेको व्यक्ति नै वास्तविक गुरु हो। रूपान्तरण प्राप्त नगरिसकेको व्यक्तिलाई गुरु भन्न मिल्दैन। तर, स्रोतापन्नको चरणमा रहेको मानिसलाई पनि हामीले गुरु बनाइदियौँ। त्यति मात्र होइन, अध्यात्मको आभास नै नभएको, मात्र ढोँगलाई अवलम्बन गरिरहेको व्यक्तिलाई पनि हामीले भव्य गुरुको आसनमा पु¥यायौँ। अनि, यस्ता व्यक्तिबाट हत्या, यौन दुव्र्यवहार र बलात्कारलगाययत अपराध हुनु अनौठो होइन।
गुरु उत्पादनमा मिडिया र राजनीति
रामबहादुर बम्जन तपस्यारत रहेको समयमा लाखौँ मानिस बाराको जंगलमा पुगे। उनकै भाषामा उनी तपस्यारत रहँदारहँदै नै विश्वचर्चित बने। सिद्धार्थ गौतमले पनि तपस्या गरेको विभिन्न कथा हामीले पढ्दै र सुन्दै आएका छौँ। बोधगयामा सिद्धार्थ बुद्ध हुँदा उनीसँग कोही थिएनन्। अर्थात्, सिद्धार्थ गौतम बुद्ध बनिसक्दा पनि उनको ख्याति थिएन। सारनाथबाट प्रवचन प्रारम्भ गरेपछि बिस्तारै उनको ख्याति देशदेशावरमा फैलियो। बुद्ध भइसकेपछि पनि उनले आम्रपाली, अंगुलीमाल र देवदत्तलगायत सयौँ व्यक्तिको सामना गरे। हजारौँ जटिलतालाई सहर्ष स्वीकार गरे। तत्पश्चात् मात्रै जनजनले उनलाई स्विकार्न थाल्यो।
साधना सिद्ध हुन पनि सक्छ र नहुन पनि सक्छ। साधना कर्म हो। परिणाम होइन। साधनारत रामबहादुर बम्जनलाई ‘लिटिल बुद्ध’ बनाउने काम मिडियाले गरेको हो। अहिले भारतमा पक्राउ परेका जति पनि गुरु छन्, ती गुरुका पछाडि करोडौँ भक्त बनाउने कार्यको मुख्य श्रेय भारतीय सञ्चारमाध्यमलाई नै जान्छ। उनीहरूकै कारण औसत र आम मानिस चामत्कारिक गुरु बन्न पुग्छ।
हरेक भारतीय गुरुसँग चर्चित भारतीय नेताहरूको उठबस रहेको विषय सञ्चारमाध्यमले नै सार्वजनिक गरिरहेका छन्। गुरुकहाँ आम मानिस दुःख निवारण, धर्म, सम्पत्ति र सुख प्राप्तिका लागि जान्छन् भने नेताहरू भोटका लागि। आफ्ना पछाडि करोडौँ अनुयायी भएको गुरुलाई खुशी बनाउनेबित्तिकै सानो प्रयत्नबाट नेताले धेरै भोट प्राप्त गर्छ। नेता गएपछि, उच्च पदस्थ कर्मचारी, प्रहरी प्रशासनका शक्तिशाली मानिस पनि गुरुलाई पछ्याउन थाल्छन्। नेता, प्रशासक र जनताको उपस्थितिलाई मिडियाले पछ्याउँछ र धार्मिक गुरुहरू शक्तिशाली मानिसका रूपमा प्रस्तुत हुन्छन्।
जब गुरुहरू शक्ति र चर्चामा पुग्छन्, त्यहाँ उद्योग र व्यवसायीको दान र सहयोग पनि ओइरिन थाल्छ। किनकि, गुरुसँग जोडिएका थलोमा देशका शक्तिशाली मानिसदेखि निमुखा जनतासम्म पुग्छन्। आफ्नो उत्पादनको प्रचार गर्नदेखि आफूलाई दानवीर देखाउनसम्मका लागि सबैभन्दा उपयुक्त स्थल पाएपछि व्यापारीले लगानी गर्नु स्वाभाविक हो। गुरुभक्तिमा उद्योगी र व्यापारी जब दानशील बन्न पुग्छन्, तत्पश्चात् धर्मगुरुहरूको विशाल आर्थिक सामथ्र्यसमेत निर्माण हुन पुग्छ।
सकारात्मक पक्ष
एउटै सिक्काका दुई पाटा भनेझैँ धर्मगुरुहरूको अँध्यारोसँगसँगै उज्याला पाटा पनि छन्। पक्राउ पर्ने वा दण्डित हुनेबित्तिकै हामी उनीहरूको सकारात्मक कार्यलाई चटक्कै बिर्सन्छौँ। यसको अर्थ अपराध गरेका धर्मगुरुलाई दण्डित गर्नु हुँदैन भन्न खोजिएको होइन। उनीहरूले आफ्नो कर्म वा अपराधअनुसार कानुनी दण्ड पाउनैपर्छ। तर, यसो भनिरहँदा उनीहरूले समाजमा निर्वाह गरेको सकारात्मक भूमिकालाई पनि बिर्सनु हुन्न।
प्रसिद्ध भारतीय धार्मिक गुरु साई बाबाकोे चामत्कारिक चर्चाका कारण भारतको आन्ध्रप्रदेशस्थित पुट्टपर्थीमा रहेको उनको आश्रमसम्म म पनि पुगेको छु। साई बाबाको चमत्कार झुट, ढोँग वा जादु जे पनि हुन सक्ला।
यसको विषयमा छुट्टै बहस गर्न सकिन्छ। तर, साई बाबाले पुट्टपर्थीको कायाकल्प नै गरिदिएका छन्। राज्यको प्रयासले पनि तत्काल सम्भव नभएको ठाउँमा खानेपानी उपलब्ध गराएका छन्। ओपन हार्ट सर्जरीका लागि अस्पताल निर्माण गरेर निःशुल्क सेवा दिएका छन्। धेरै अहाय र गरिबले भोजनसँगै आश्रय पनि पाएका छन्। अन्य बाबाले पनि सामाजिक सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनीहरूका कारण लाखौँ मानिसको कल्याण भएको छ। धर्मगुरुका कारण उपलब्ध निःशुल्क भोजन, निःशुल्क शिक्षा र उपचारजस्ता सेवा र सुविधाले लाखौँको उद्धार भएको छ। कुनै राजनीतिज्ञले गर्नेभन्दा उपल्लो स्तरको सामाजिक कल्याण धर्मगुरुहरूले गरेका छन्।
अन्त्यमा, वास्तविक गुरु को हो र कसलाई गुरु मान्ने भन्ने विषयमा आम मानिस सुसूचित हुनु जरुरी छ। जसलाई पनि गुरु मान्ने अवस्था विद्यमान रहिरहँदा समस्या बल्झिरहन्छ। अर्काेतर्फ पत्रकारले पनि आध्यात्मिक विषयको रिपोर्टिङमा सुझबुझ देखाउनु जरुरी भइसकेको छ। अध्यात्मसँग सम्बन्धित ज्ञान र सामथ्र्य विकासमा पनि जोड दिनुपर्छ। यति मात्र हुन सक्यो भने पनि झुटा गुरुहरूले करोडौँलाई बेवकुफ बनाउन सक्दैनन्।