चैत १४ गते ‘विश्व नेवाः दिवस’ मनाइँदै

राम्रो अनलाइन     १० चैत २०७७, मङ्गलबार

काठमाडौँ, १० चैत : वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरको आयोजनामा यही चैत १४ गते यहाँको वसन्तपुर डबलीमा विश्व नेवाः दिवस मनाइँदैछ । 
विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले दिवस आयोजना हुन लागेको हो । 


उक्त कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपाल ११४१ का मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा सम्मान गरिने भएको छ । 

यसैगरी, ‘विश्वका नेवार ः चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरु मल्ल के। सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा रहनेछन् । 

कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्वीरको प्रदर्शनी, नेवाः परिकारको स्टल, साँस्कृतिक कार्यक्रम र मञ्चको विविध गतिविधिहरु समेटिएको स्मारिकाको पनि विमोचन गरिने छ । नेवाः समुदायको गौरव विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष मार्च महिनाको पछिल्लो शनिबार विश्व नेवाः दिवस मनाउने गरिएको छ । 

प्रतिक्रिया