भारतकी प्रसिद्ध बक्सिङ खेलाडी हुन्, मेरी कम । विश्व बक्सिङ प्रतियोगितामा उनी पाँच पटक विजेता बनेकी छिन् । उनको जीवनमा आधारित फिल्म ‘मेरी कम’ सन् २०१४ मा रिलिज भएको थियो । जसमा उनको भूमिका अभिनेत्री प्रियंका चोपडाले गरेकी थिइन् । तिनै मेरीले गत सेप्टेम्बरमा पोल्यान्डमा आयोजित १३ औँ अन्तर्राष्ट्रिय सिलेसियन बक्सिङ च्याम्पियनसिपमा ४८ किलो वजन समूहमा स्वर्ण पदक जितिन् । तर, प्रतियोगिताका लागि त्यहाँ पुग्दा उनको वजन दुई किलो बढी थियो अर्थात् ५० किलो थियो । टुर्नामेन्टमा भाग लिन चार घण्टा मात्र बाँकी थियो । मेरीले चार घण्टामा दुई किलो वजन घटाइन् । उनले स्किपिङ गरेर मात्र दुई किलो वजन घटाएकी थिइन् । वजन घटाउन मात्र होइन, स्किपिङ गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक छ ।
स्किपिङ उत्तम व्यायाम
स्किपिङ सम्पूर्ण शरीरका लागि लाभकारी छ । यो उत्तम व्यायाम हो । किनकि, स्किपिङ गर्दा केही मिनेटमै सम्पूर्ण शरीरको व्यायाम हुन्छ । शीघ्र वजन घटाउन चाहनेले स्किपिङ गर्नु राम्रो हो । स्किपिङ जहाँ पनि जतिखेर पनि गर्न सकिन्छ । यात्रा गर्दासमेत स्किपिङ गर्ने डोरी आफूसँग राख्न सकिन्छ ।
मुटु स्वस्थ राख्छ
स्किपिङ कार्डियो एक्सरसाइज हो । स्किपिङ गर्दा मुटु स्वस्थ रहन्छ । दिनहुँ १५ मिनेट स्किपिङ गर्दा मुटुको धडकन राम्रो हुन्छ । ऊर्जा बढ्छ । शरीर अझै धेरै व्यायाम गर्नका लागि तयार हुन्छ ।
छालाका लागि फाइदाजनक
स्किपिङ गर्दा छालालाई फाइदा पुग्छ । प्राकृतिक रूपमा छालामा निखार चाहनेले नियमित स्किपिङ गर्नुपर्छ । स्किपिङ गरेर विभिन्न छालासम्बन्धी समस्याबाट राहत पाउने सकिन्छ । स्किपिङ गर्दा पसिना बग्छ र रोमछिद्र खुल्छन् । जसले गर्दा चाउरिने, दागधब्बालगायत छालासम्बन्धी समस्या हटेर जान्छन् ।
क्यालोरी घट्छ
स्किपिङ गर्दा शरीरमा ऊर्जाको सञ्चार हुन्छ । शरीर छरितो र कसिलो बन्छ । वजन घट्छ । मोटोपनका कारण विभिन्न स्वास्थ्यसम्बन्धी समस्याले सताउँछन् । शारीरिक समस्याबाट बच्न बोसो कम गर्नुपर्छ । १५ मिनेट मात्र स्किपिङ गर्दा दुई सय क्यालोरी कम हुन्छ ।
रक्त सञ्चार सुधार्छ
स्किपिङले रक्त सञ्चार राम्रो गर्छ । स्किपिङ गर्दा असिनपसिन भइन्छ । शरीरमा भएका विषाक्त तत्व पसिनाका माध्यमले बाहिर निस्कन्छन् । हार्मोनलाई सन्तुलित गर्छ, स्किपिङले ।
तनाव घटाउँछ
स्किपिङ गर्दा मानिस मानसिक रूपले पनि स्वस्थ हुन्छ । तनाव कम हुन्छ ।
स्किपिङ गर्दा ध्यान दिनुपर्ने कुराः
स्किपिङ गर्दा ध्यान पुर्याइएन भने चोटपटक लाग्न सक्छ । मांसपेशी तन्किन सक्छ । खाली पेट मात्र स्किपिङ गर्नुपर्छ । स्किपिङ गर्दा लुगा खुला र आरामदायक लगाउनुपर्छ । स्किपिङ गर्नुअघि हल्का व्यायाम गर्नुपर्छ । जसले गर्दा मांसपेशी कम तन्किन्छन् । स्किपिङ गर्दा गति कम राख्नुपर्छ । बिस्तारै गति बढाउनुपर्छ ।