संकटको घडीमा पनि पूर्वाग्रहको चस्मा नखोलौँ !

गुरु केदार बराल     १८ भदौ २०८३, बिहिबार
संकटको घडीमा पनि पूर्वाग्रहको चस्मा नखोलौँ  !

देश संकटको अवस्थामा छ। यस्तो बेला राज्यका हरेक प्रयासलाई निष्पक्ष आँखाले हेर्नु र मूल्याङ्कन गर्नु हामी सबैको जिम्मेवारी हो। सरकारका कमजोरी छन् भने प्रश्न उठाऔँ, गल्ती छन् भने खबरदारी गरौँ, सुधार आवश्यक छ भने दबाब दिऔँ। तर संकटको घडीमा भइरहेका हरेक प्रयासलाई राजनीतिक पूर्वाग्रहकै आधारमा अस्वीकार गर्नु कति उचित होला?

अहिले गृहमन्त्री आफैँ मैदानमा खटिरहेका छन्। उद्धार, राहत र व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई परिचालन गरिरहेका छन्। प्रधानमन्त्री पनि निरन्तर सूचना लिने, सम्बन्धित निकायसँग समन्वय गर्ने र आवश्यक निर्देशन दिने काममा सक्रिय देखिनुभएको छ।

अब पनि नगरे कहिले गर्ने ?

जनता विपत्तिमा परेका बेला सरकारका जिम्मेवार व्यक्ति काममा खटिनु स्वाभाविक दायित्व हो। त्यसका लागि उनीहरूलाई प्रश्न गर्न सकिन्छ, अझ राम्रो गर्न आग्रह गर्न सकिन्छ। तर काम गरिरहँदा पनि केवल आलोचनाकै लागि आलोचना गर्नु भनेको समस्याको समाधान खोज्नु होइन।

कतिपय मानिसहरू यस्ता छन्, जसले सरकारले केही गरे पनि देख्दैनन्। राहत पुगे पनि प्रश्न, उद्धार भए पनि प्रश्न, रातदिन खटिए पनि प्रश्न। यस्तो लाग्छ—आँखामा कालो चस्मा लगाएपछि उज्यालो पनि अँध्यारो नै देखिँदो रहेछ।

आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो। सरकारलाई प्रश्न गर्नु नागरिकको अधिकार हो। तर आलोचना र पूर्वाग्रहबीचको फरक पनि बुझ्नुपर्छ। गल्ती औँल्याउने आलोचना र राम्रो कामलाई समेत नराम्रो देखाउने नियत एउटै कुरा होइन।

आलोचनाबाट बच्ने तीन उपाय छन्–
केही नगर, केही नभन, केही नबन।

त्यसो गर्दा आलोचना त कम होला, तर देश पनि बन्दैन।

देश बनाउने हो भने काम गर्नैपर्छ। काम गर्ने हो भने गल्ती पनि हुन सक्छन्। गल्ती हुन्छ भने सुधार गर्नुपर्छ। तर काम गर्नै नदिने, काम गर्दा पनि हतोत्साहित गर्ने र हरेक प्रयासलाई राजनीतिक चस्माबाट मात्र हेर्ने प्रवृत्तिले अन्ततः नोक्सान सरकारलाई मात्र होइन, देश र जनतालाई नै हुन्छ।

अहिले आवश्यक कुरा आरोप–प्रत्यारोप होइन।
उद्धारमा हातेमालो गरौँ। राहतमा सहयोग गरौँ। सरकारलाई खबरदारी गरौँ। कमजोरी देखिए सुधार्न दबाब दिऔँ। तर संकटमा खटिरहेका हातहरूलाई निरुत्साहित नगरौँ।

आज देशलाई भाषणभन्दा काम चाहिएको छ।
आलोचनाभन्दा समाधान चाहिएको छ।
राजनीतिक स्वार्थभन्दा मानवीय संवेदना ठूलो भएको प्रमाण दिनुपर्ने समय हो।

त्यसैले सरकारको कामको मूल्याङ्कन गरौँ–तर निष्पक्ष भएर।

राम्रो भएको छ भने राम्रो भनौँ।
कमजोरी भएको छ भने कमजोरी भनौँ।
गल्ती भएको छ भने सच्याउन दबाब दिऔँ।

तर आँखामा कालो चस्मा लगाएर उज्यालोलाई पनि अँध्यारो देखाउने काम नगरौँ।

संकट सबैको हो।
पीडा सबैको हो।
र समाधानको जिम्मेवारी पनि सबैको हो।

प्रतिक्रिया