‘सिस्नुपानी झ्याम्मै’ टेलिशृंखलाबाट ‘धतुरे’ क्यारेक्टरकोे जन्म भएको हो । धतुरे एउटा पश्चिमेली लबज भएको चरित्र हो । यसका लागि मैले आफ्नो स्वरलाई लामो बनाएर तानेर बोल्नुपर्छ । धतुरे एकोहोरो र सोझो खालको हुन्छ । उमेरले ६०÷६५ को देखिन्छ । उमेरले बुढो भए पनि अहिलेको जमानाअनुसार हिँड्न रुचाउँछ । सिस्नुपानीको बेला धतुरेको पहिलो दृश्य गोठमा थियो । गोठमा गाईवस्तुलाई पानी दिन जानुपर्ने थियो । अहिले त्यही क्यारेक्टर ‘भद्रगोल’ हुँदै ‘क्या जमाना आ !’ टेलिशृंखलासम्म आइपुगेको छ ।
मलाई सीपी पुडासैनीबाट धतुरे बन्न लगभग ४५ मिनेट लाग्छ । दाह्रीलाई ह्वाइटनरको सहायताले सेतो बनाइन्छ । कपाल पनि टोपीले छोपेको भागबाहेक सबै फुलाउनुपर्छ । मेकअप गरेपछि मेरो उमेर दोब्बर हुन्छ । कता–कता आफूलाई बुबाको रूपमा पाउँछु । ऐनामा हेरेपछि एक्कासि धतुरेका हाउभाउ आफैँ आउँछ । कसैले सीपी भन्यो भने पनि मलाई धतुरे भन भन्छु ।

कहिलेकाहीँ आफूभन्दा धतुरे नै राम्रो लाग्छ । मेकअप नै नपखाली सुत्छु । ४५ मिनेट लगाएर गरेको मेकअप पखाल्न डेढ घण्टा लाग्छ । एकदमै घोटेर पखालेपछि मात्रै जान्छ । साह्रै कडा मेकअप हुन्छ । साथीहरू घरमा पुगरे खाना खाएर सुतिसक्दा पनि कहिलेकाहीँ म चाहिँ मेकअप पखाल्दै बसिरहेको हुन्छु ।
सीपी बनेर हिँडेको बेला मलाई कसैले चिन्दैनन् । म हाँसे भने कसैकसैले चिन्नुहुन्छ । त्यो पनि मेरो बीचको दाँत फाट्टिएको हुनाले । केही समयअघि दाङ नारायणपुरमा एउटा महोत्सव भएको थियो । त्यहाँ मैले धतुरेको क्यारेक्टर गरेको थिएँ । आफ्नो रोल सकेपछि मैले मेकअप पखालेँ । त्यसपछि कार्यक्रम हेर्न थालेँ । एक जना दर्शक मेरो छेउमा आएर ‘धतुरे खोइ त दाइ ?’ भनेर सोध्नुभएको थियो । मैले ‘भर्खरै निस्किनुभयो भाइ’ भनँे । मलाई मनमनै निकै हाँस उठेको थियो । ‘उहाँलाई किन खोज्नुभयो ?’ भनेर सोधेँ । उहाँले ‘धतुरेलाई भेटेर सेल्फी हान्न मन थियो’ भन्नुभयो । त्यसपछि मैले ‘म नै धतुरे हुँ’ भनेर उहाँसँग फोटो खिचेँ । चरित्र अभिनय गर्नुको मज्जा नै यही हो ।
धतुरेको स्वर एकैनासको बनाउन गाह्रो हुन्छ । कहिलेकाहीँ त गर्दागर्दै लय बिग्रिहाल्छ । ट्युनिङ नै बिर्सिन्थेँ । अहिले भने काम गर्दागर्दै बानी परिसक्यो खासै गाह्रो हुँदैन ।
मलाई यो क्यारेक्टरको एकदमै माया लाग्छ । दर्शकले पनि यो क्यारेक्टरलाई माया गरिरहनुभएको छ । त्यसैले मैले धतुरेबाहेक अरू क्यारेक्टर गर्ने गरेको छैन ।