मधुसुदन पाठक, हास्य कलाकार
हास्य टेलिशृंखला ‘भद्रगोल’ सुरु हुनुअघि म इटहरीमा एउटा स्टेज प्रोग्रामका लागि गएको थिएँ । त्यहाँ मैले केही हास्य कलाकार दाइहरूको क्यारिकेचर गरेको थिएँ । त्यो देखेर ‘भद्रगोल’ टिमले ‘तपाईं पनि हाम्रो टिममा आउनुपर्यो’ भनेको थियो ।
केही समयपछि लगत्तै थाइल्यान्डमा एउटा कार्यक्रम पर्यो । त्यसैको सिलसिलामा मलगायत केही कलाकार साथीहरू त्यहाँ गयौँ । आयोजकको तर्फबाट सर्लाहीका केदार घिमिरे नाम गरेको एक जना व्यक्ति हुनुुहुन्थ्यो । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सँग नाम र थर दुवै मिल्ने भएकाले हामीले उहाँलाई नोटिस गरेका थियौँ । उहाँ पनि हामीसँग एकदमै घुलमिल भइसक्नुभएको थियो । उहाँ जस्तोसुकै अवस्थामा पनि नहडबडाउने र नआत्तिने खालको हुनुहुन्थ्यो । जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि ‘ए हो ? भैहाल्छ नि’ भन्नुहुन्थ्यो । उहाँको त्यही बानीलाई हामीले टपक्कै टिप्यौँ ।

‘भद्रगोल’मा त्यस्तै खालको एउटा क्यारेक्टर निर्माण गर्ने सोच बनायौँ । त्यो भूमिका म आफैँले निर्वाह गर्ने भएँ । ‘ए हो, भैहाल्छ नि’ भन्ने थेगोलाई ‘ए हो ? ठीकै छ’मा ढाल्यौँ । यसरी भद्रगोलको ‘सीते बा’ भन्ने क्यारेक्टर जन्मियो ।
मैले निर्वाह गर्ने त्यो क्यारेक्टर एकदमै बिन्दास खालको क्यारेक्टर हो । जो एकदमै शान्त स्वभावको हुन्छ । जस्तोसुकै अवस्थामा पनि कुनै चिन्ता लिँदैन । आफू वा अरू जस्तोसुकै दुःख र पीडामा भए पनि ‘ए हो, ठीकै छ’ भन्दै हिँड्छ । त्यो आफैँमा गम्भीर खालको क्यारेक्टर हो । तर, त्यो क्यारेक्टरले नजानिँदो पाराले अरूलाई खिस्याउँछ ।
म व्यवसाय र कलाकारिता दुवै क्षेत्रमा आबद्ध छु । कलाकारितामा खासै समय दिन पाउँदिनँ । तर, जति समय दिन्छु, आफूले निर्वाह गर्ने चरित्रलाई न्याय गरेरै छोड्ने गरेको छु । २९ वर्षको मान्छे ६५\ ७० वर्षको बूढो मान्छेको भूमिका निवार्ह गर्नु आफैँमा चुनौतीपूर्ण कुरा हो । मेकअप गरेर मधुसुदनबाट ‘सीते बा’ बन्न ४५ मिनेट लाग्छ ।
त्यो क्यारेक्टर मेरो लागि एकदमै विशेष छ । किनभने, त्यो क्यारेक्टरको हाउभाउ ठ्याक्कै मेरो आफ्नै हजुरबुबासँग मिल्छ । उहाँ पहिला जजमानी गर्नुहुन्थ्यो । पाठपूजा गर्ने बेला म पनि उहाँसँगै हिँड्थेँ । उहाँसँग धेरै नजिक थिएँ । त्यसैले उहाँको हरेक क्रियाकलापलाई मैले नजिकबाट नियाल्ने मौका पाएँ । उहाँ अहिले यो संसारमा हुनुहुन्न । तर, त्यो क्यारेक्टरभित्र मैले सधैँ उहाँलाई पाउँछु । हिँड्ने शैली, कुप्रो पर्ने, हात पछाडि लगेर बाँध्ने र लवाइ सबै उहाँसँग मिल्छ । ‘भद्रगोल’को सुटिङ हुने ठाउँ मुड्खु भञ्ज्याङमा पनि ‘सीते बा’जस्ता केही व्यक्ति रहेछन् । त्यो देखेपछि झन् रमाइलो लाग्यो ।