एनपीएलस् सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य 

राम्रो अनलाइन     २२ मंसिर २०८१, शनिबार
एनपीएलस् सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य 


काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि लुम्बिनी लायन्सलाई एक सय ८८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनायो । 

सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए।

उनले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हाने । यस्तै ब्रान्डन म्याकमुलानले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाए । आरिफ शेख शुन्य रनमा पेभेलियन फर्किए। 

बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिए । यसअघिका खेलमा ठूलो योगफल खडा गरेपनि लगातार दुई हार खेपेको लुम्बिनी पहिलो जित निकाल्ने लक्ष्यमा छ ।

लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो । आज तेस्रो खेलपनि हारेमा लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्नेछ ।

यता सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । 

प्रतिक्रिया