ग्ल्यामर क्षेत्रमा जम्दै इक्सा

गोपाल दाहाल     १४ फागुन २०७७, शुक्रबार
ग्ल्यामर क्षेत्रमा  जम्दै इक्सा

धरानकी इक्सा मादेनका फरक–फरक परिचय छन् । ब्युटी पेजेन्ट विजेता, मोडल, उद्घोषक र रेडियो जकी । उनी ग्ल्यामर क्षेत्रमा जम्दै छिन् ।

‘मिस पूर्वाञ्चल २०१६’ मा फस्टरनरअप बनेपछि इक्साको अन्य क्षेत्रमा पनि सक्रियता बढ्यो । उनी धरानको विजयपुर एफएममा नियमित कार्यक्रम सञ्चालन गर्छिन् । धरान, पोखरा र काठमाडौँमा हुने फेसन सोमा उनी र‍्याम्पमा हिँडिसकिन् । म्युजिक भिडियोमा पनि उनले मोडलिङ गरिसकेकी छिन् ।

उनले धरान, विराटनगर, बिर्तामोड, इटहरी, चितवन, भेडेटारलगायत ठाउँमा सञ्चालन भएका कार्यक्रमा उद्घोषण पनि गरेकी छिन् । उद्घोषणले आफूलाई धेरै नयाँ कुरा सिकाएको र नयाँ ठाउँमा पु¥याएको उनी  बताउँछिन् । ‘सानोमा उद्घोषक बन्ने सपना त थिएन तर समय र अनुभवले यो फिल्डमा पुगेँ,’ उनी भन्छिन्, ‘काम गर्दै जाँदा रमाइलो हुँदै जाँदोरहेछ ।’

केही महिनाअघि काठमाडौँमा भएको ‘मिस ग्रान्ड नेपाल इन्टरनेसनल २०१८’मा पनि उनी फस्ट रनरअप बनिन् । ब्युटी पेजेन्टबाट आफूले धेरै कुरा सिकेको उनको बुझाई छ । त्यहाँ दिइने तालिम जीवनभर काम लाग्ने उनको तर्क छ । भन्छिन्, ‘जिते पनि नजिते पनि ब्युटी पेजेन्टबाट धेरै कुरा सिक्न सकिँदोरहेछ ।’ 

परिवारका कोही पनि यो क्षेत्रमा नभएकाले सुरुमा उनलाई गाह्रो भएको थियो । अहिले परिवारले उनलाई विश्वास गरेको छ । सहयोग गरेको छ । ‘मेहनत गर्यो जुनसुकै क्षेत्रमा पनि सफल भइन्छ,’ उनी भन्छिन् । टेलिभिजनमा समाचार वाचन गर्ने अनि अलि मेहनत गरेर ‘मिस नेपाल’ भिड्ने योजना इक्साले बनाएकी छिन् । पढाइसँगै फेसन र ग्ल्यामर क्षेत्रमै भविष्य बनाउने उनको सोच छ ।

प्रतिक्रिया