प्रकृतिको विधान लिनु–दिनु वा आउनु–जानुसँग सम्बन्धित छ। कोही जन्मन्छ भने त्यसको मृत्य अवश्यम्भावी छ। केही आज पाइन्छ भने भोलि त्यसलाई गुमाउनु नै पर्छ। प्रकृतिको नियममा आज हुनुको मतलब भोलि नहुनु र आज नहुनुको मतलब भोलि हुनु हो।
प्रकृतिको यही नियमको बोध नहुँदा हामी दुःखमा पर्छाैं। हामी हरेक दिन केही न केही प्राप्तिका लागि कर्म गरिरहेका हुन्छौँ। हाम्रा हरेक कर्म र गतिविधि केही न केही प्राप्तिका लागि लक्षित हुन्छन्।
प्राप्तिको खोज
साना बालबालिकाले स्कुल गएर शिक्षा प्राप्त गर्छन्। हामी वयस्क पेशा– व्यवसायमा आबद्ध भएर धन आर्जन गरिरहेका छौँ। साधुसन्तहरू साधानारत रहेर मुक्ति प्राप्तिका लागि तल्लीन छन्। अर्थात्, हामी आम मानिसको कर्मका पछाडि प्राप्तिकै अभिलाषा हुन्छ।
हामी धन कमाउँछौँ र उक्त कमाइमार्फत घरघडेरी, गाडीलगायत भौतिक सम्पत्ति जोड्छौँ। यति धन थुपारियो, यति उन्नति गरियो वा यति जोडियो भनेर आफूलाई भाग्यमानी, गौरवशाली र कर्मशील सोचिरहँदा मुख्य कुरा बिर्सन्छौँ। हामीले कमाएको, जोडेको वा प्राप्त गरेको सम्पूर्ण वस्तु सधैंका लागि होइनन्। किनकि, प्रकृतिको नियममा नै आज छ भने भोलि नरहने विधान छ।
हाम्रो जीवन नै जन्म–मृत्युको चक्रबाट गुज्रिरहेको छ। तर, हामी भने आज आर्जेको घर भोलि सधैंका लागि हो वा हुनुपर्छ भन्ने मान्यता राख्छौँ। आजको पद–प्रतिष्ठा सदाका लागि हो भन्ने भ्रममा पर्छाैं। जब हामीले पाएको केही गुम्छ वा हिजोको जस्तो सहज अवस्था आज रहँदैन, अनि हामी समस्याग्रस्त बन्छौँ।
यही परिवर्तन वा रूपान्तरणको नियमलाई बोध गर्न नसक्दा वा यो नियमलाई जीवनमा सम्पूर्ण रूपमा आत्मसात् गर्न नसक्दा नै हामी पीडा र दुःखको चक्रव्यूहमा फस्छौँ।
जीवन अरूका लागि पनि हो
हाम्रा अधिकांश कर्म आफू र आफ्नाका लागि सम्बन्धित छन्। हामी आफ्ना र आफन्तका सुखका लागि नै रातदिन मेहनत गरिरहेका हुन्छौँ। यसबाट नै सुख– सन्तोष प्राप्त हुन्छ भन्ने हाम्रो बुझाइ छ। यो अस्वाभाविक पनि होइन। तर, हजारौँ वर्षको मानव सभ्यताले आफ्ना लागि मात्र कर्म गर्ने, आफ्ना लागि मात्र सोच्ने वा परहित र कल्याणका लागि आफूलाई थोरै पनि समर्पित नगर्ने मानिस कहिल्यै खुशी र सुखी हुँदैन भन्ने निक्र्याैल निकालेको छ।
जसले गर्दा संसारका सम्पूर्ण धर्मशास्त्रमा दानको विषयलाई उच्च महत्व दिएको पाइन्छ। धर्मशास्त्रले दानलाई मानव जीवनको अनिवार्य कर्मका रूपमा अथ्र्याएका छन्। दान भन्नेबित्तिकै हामी अरूका लागि गरिने कर्म भन्ने बुझ्छौँ। अर्थात्, अरूको भलाइ र कल्याणका लागि केही दिनु नै दान हो। तर, दानको मूल उद्देश्य आफ्नै हित र आनन्द हो।
दानले अरूको भलाइ गर्ने विषय दोस्रो पक्ष हो। पहिलो त आफ्नै कल्याण हो। दान दिएपछि ‘पुण्य हुन्छ र मरेपछि पाइन्छ’ जस्ता मान्यता समाजमा नभएका होइनन्। तर, तत्कालको तत्काल नाफा खोज्ने वर्तमान युगका मानिसलाई मरेपछि पाइन्छ भन्ने विषयले त्यति धेरै अर्थ राख्दैन। आजको भोलि प्रतिफल चाहनेले मुत्यपछिको प्राप्तिका लागि कर्म नगर्नु अस्वाभाविक पनि होइन।
दानः आफ्नै हितका लागि
दानको वैज्ञानिक महत्व र सन्दर्भलाई बुझाउन नसकिँदा वा पढ्नु आफ्नै लागि भनेजस्तै दान गर्नु पनि आफ्नै लागि हो भनेर बुझाउन नसक्दा दान दिनु बुढ्यौलीमा गर्नुपर्ने रीतिथिति मात्र भएको छ। दान किन गर्नुपर्छ ? दानको मानसिक र सामाजिक महत्व के हो ? दान गर्नुलाई जीवनकै महत्वपूर्ण कार्यका रूपमा किन परिभाषित गरिएको हो ?
दानले आध्यात्मिक जीवनमा मात्र कल्याण गर्छ कि भौतिक जीवनमा पनि ? दान धर्मसँग मात्र सम्बन्धित हो कि हाम्रो सांसारिक जीवनचर्याका हरेक पक्षसँग ? दान दिनु भनेको केही भौतिक कुरा दिनु मात्र हो कि अर्थाेक दिनु पनि हो ? यी र यस्ता विषयमा चर्चा गर्नु सान्दर्भिक हुन जान्छ।
भरोसाः सफलताको आधार
खर्बपति अमेरिकी नागरिक बिल गेट्स वर्तमान समयमा सबैभन्दा बढी दान दिने मानिसका रूपमा प्रसिद्ध छन्। उनले आफ्नो कमाइको ५० प्रतिसतभन्दा बढी हिस्सा दान दिइसकेका छन्। बिल गेट्स फाउन्डेसनमार्फत उनले संसारभर शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा खर्च गरिरहेका छन्। उनले हरेक वर्ष अर्बाैं रुपैयाँ दान दिने गरेका छन्।
दान भन्नेबित्तिकै हामी अरूका लागि गरिने कर्म भन्ने बुझ्छौँ। अरूको भलाइ र कल्याणका लागि केही दिनु नै दान हो भन्ने ठान्छौँ। तर, दानको मूल उद्देश्य आफ्नै हित र आनन्द हो। दानले अरूको भलाइ गर्ने विषय दोस्रो पक्ष हो। पहिलो त आफ्नै कल्याण हो।
यसरी हरेक वर्ष दान दिँदा उनको सम्पत्ति कम हुनुपर्ने हो। तर, उनी सबैभन्दा लामो समय संसारका एक नम्बर धनी मानिस बनिरहे र अहिले पनि संसारका सबभन्दा धनी पाँच जनाभित्र परिहेका छन्। उनी दान दिएर सकिँदैन भन्ने ज्वलन्त उदाहरण हुन्।
संसारमा अधिकांश व्यापारीले आफ्नो मुनाफालाई पुन व्यापारमा लगाउँछन्। तर, बिल गेट्सले ५० प्रतिशतभन्दा बढी सम्पत्ति दान गरिरहँदा किन उनको सम्पत्ति बढिरह्यो ? यसको पछाडि एक अर्थपूर्ण कारण रहेको छ, जसले दान दिने मानिसको आध्यात्मिक मात्र होइन, भौतिक उन्नति पनि हुन्छ भन्ने मान्यतालाई पुष्टि गर्छ।
उनले दिएको दानले संसारका लाखौँ मानिसको भलाइ भएको छ। यस्ता मानिसले उनलाई सम्मान गर्नु वा उनको हित चाहनु स्वाभाविक हो। जो मानिस दानशील छ वा अरूको हितका लागि काम गर्छ, त्यस्तो मानिसप्रति संसारभर शुभेच्छा, सद्भाव र भरोसा रहन्छ।
त्यही भरोसाले नै बिल गेट्सको सम्पत्ति नघटेको हो। उनले दान दिएर लोककल्याणको कार्यमा आफूलाई अग्रसर गराएपछि उनको कम्पनीले निर्माण गरेको उत्पादनप्रति संसारभर विश्वास र भरोसा झन् बढेर गयो। अर्काेतर्फ उनको सामाजिक कार्यका कारण उपभोक्ताले उनको कम्पनीका उत्पादन प्रयोग गर्नुलाई पनि आफ्नो सत्कर्मका रूपमा ग्रहण गरे।
माइक्रोसफ्टकै सामग्री प्रयोग गर्दा कम्तीमा पनि अफ्रिका वा एसियाका देशका साना नानीहरूले शिक्षाको अवसर प्राप्त गर्छन् भन्ने अवचेतनको सोचले समेत संसारभरका मानिसलाई बिल गेट्सको कम्पनीमा निर्मित सामग्री प्रयोग गर्न अभिप्रेरित गर्यो। फलस्वरूप दानले उनको सम्पत्ति घटाएन, झन् बढायो।
संसारमा कुनै पनि मानिस सफल हुनका लागि उसले सबैभन्दा पहिला अरूलाई खुशी पार्न सक्नुपर्छ। परिवारमा खुशी दिन सक्ने बाबु वा श्रीमान् नै सफल दरिन्छ। कार्यालयमा कर्मचारीलाई खुशी राख्न सक्ने म्यानेजर नै सफल मानिन्छ। त्यसै गरी जनतालाई खुशी राख्न सक्ने नेता नै सफल नेता बन्छ।
यसरी हेर्दा व्यक्तिको सफलताको पहिलो मानक अरूलाई खुशी राख्न सक्नु हो। अरूलाई खुशी राख्नका लागि सबैभन्दा पहिला अरूले आफूप्रति विश्वास र भरोसा गर्ने अवस्था निर्माण हुनुपर्छ। तपाईंप्रति भरोसा र विश्वास नजागीकन कोही पनि तपाईंसँग खुशी हुन सक्दैनन्।
आफूप्रति भरोसा निर्माण गर्नका लागि त्यागको आवश्यकता पर्छ। त्यागको एउटा रूप दान पनि हो। जसले सामाजिक कार्य गर्छ, परहितमा समर्पित हुन्छ वा दान दिन्छ, सोही व्यक्तिसँग नै आम भरोसा वा विश्वास निर्माण हुन्छ।
स्वास्थ्य रक्षाका लागि पनि दान
मान्छे भएर गर्ने महान् कर्म नै दान दिनु हो। आफू बाँच्नका लागि अरूलाई बचाउनैपर्छ। अरू भएर नै आफ्नो अस्तित्व सुरक्षित हुने हो। त्यसै गरी अरूले आफूलाई विश्वास गरे भने मात्र आफ्नो प्रगति हुँदै जान्छ। हाम्रो धर्मशास्त्र र परम्परामा त दान चिकित्सा नै थियो।
कसैको स्वास्थ्य समस्या लिएर आज पनि ज्योतिषी वा कुनै पनि झारफुक गर्ने मानिससँग पुग्दा उसले यति जनालाई भोजन गराऊ, अथवा यो दान गर जस्ता कुरा भन्ने गर्छ। शारीरिक समस्या निवारणका लागिसमेत दान गर्ने परम्परा हामीसँग छ।
पछिल्ला अनुसन्धानले पनि दान गर्ने वा सामाजिक काम गर्ने मानिस नगर्नेहरूको तुलनामा कम रोगी हुने गरेको तथ्य सार्वजनिक गरेका छन्। जसले अरूका लागि काम गर्छ, उसले आत्मसम्मान प्राप्त गर्छ।
आत्मसम्मानले आफूप्रतिको भरोसा र विश्वासको श्रीवृद्धि गराउँछ। जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता मजबुत भई शारीरिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ।
ज्ञान दान नै महान् दान
अरूका लागि भौतिक वस्तु दिनु मात्र दान होइन। बुद्धले दानको सन्दर्भमा सबैभन्दा महत्वपूर्ण दान भनेको ज्ञान दान हो भनेका छन्। अहिले ज्ञान दानको विषयमा खासै चर्चा हुँदैन। अर्थात्, ज्ञान दानलाई महत्वपूर्ण दानका रूपमा हेरिँदैन। तर, सम्पूर्ण दुःखबाट पार पाउन ज्ञानको आवश्यकता पर्छ।
अन्तिम कल्याण ज्ञानबाट मात्र सम्भव छ। तर, ज्ञान दान दिनका लागि सबैभन्दा पहिला आफू नै ज्ञानी बन्नुपर्छ। आफूलाई परिष्कृत र रूपान्तरित नगरीकन दिन नसकिने भएका कारणले नै ज्ञान दानलाई अरू दानभन्दा कठिन दान भनिएको हो।
हामी मानव अरू प्राणीभन्दा फरक हुनुको मुख्य आधार भनेकै हामी अरूको हित र कल्याण गर्न सक्छौँ। अरूलाई सहयोग गर्न सक्छौैँ, सद्भाव बाँड्न सक्छौँ। हरेक जीवजन्तुले आफ्ना सन्तालाई भोजन र सुरक्षा प्रदान गरिरहेकै हुन्छन्।
आफू र आफ्नालाई मात्र होइन, अरूलाई पनि सेवा र सहयोग गर्नु मानव हुनुको खास परिचय हो। यसका लागि दान महत्वपूर्ण कार्य हो, जसलाई हामीले जीवनशैली बनाउनु जरुरी छ।