लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

राम्रो अनलाइन     १७ भदौ २०८२, मङ्गलबार
लुम्बिनी प्रदेशमा विपद्मा परी साउनमै ४३ ले ज्यान गुमाए

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।
 
सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत ३३५ वटा घटना घटेका थिए । ती घटनाका कारण मानवीय क्षति भएको हो । यसरी भएको विपद्ले रु ५१ लाखबराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । साउनमा मात्र बाढीमा परेर दुई, पानीमा डुबेर २७, आगलागीमा परेर एक, विषाक्त खाद्य सेवनका कारण चार, सर्पदंशका कारण आठ र अन्यमा एक गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रदेशस्तरीय विवरणअनुसार दाङमा सात, कपिलवस्तुमा नौ, रूपन्देहीमा पाँच, बाँकेमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, प्यूठानमा चार, बर्दियामा तीन, अर्घाखाँचीमा दुई, नवलपरासी पश्चिममा दुई, रुकुमपूर्वमा एक र रोल्पामा चार जनाको ज्यान गएको छ ।

यस अवधिमा २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन्भने १२ आंशिक क्षति भएका छन् । एक सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा दुईवटा भवनमा आंशिक क्षति भएका छन् । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ सशक्त बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया