पेसा संरक्षण गर्न सङ्गठित भए ‘परियार’ समुदाय

राम्रो अनलाइन     २२ असार २०८२, आइतबार
पेसा संरक्षण गर्न सङ्गठित भए ‘परियार’ समुदाय

तुलसीपुर– आफ्नो पेसा संरक्षण गर्न दाङको तुलसीपुरस्थित ‘परियार’ समुदाय सङ्गठित भएका छन् । यो समुदायको पुर्खादेखिको पञ्चेबाजा बजाउने पेसा पछिल्लो समय लोप हुने अवस्था पुगेको छ । साथै समुदायका पुर्खाले कपडा सिलाएर आम्दानी गर्ने गरेकामा अहिले यो पेसा पनि सङ्कटमा पर्न थालेको भन्दै संरक्षणका लागि सङ्गठित भएका हुन् । 

परियार एकता समाज दाङ गठन गरेर यो समुदाय सङ्गठित भएको अध्यक्ष निर्मल परियारले बताए । ‘हाम्रो पेसा लोप हुने अवस्थामा छ, हाम्रा पुर्खाले गरेको पेसा अहिले अन्य समुदायले गरेर आम्दानी लिइरहनुभएको छ’, उनले भने, ‘अब हामीले यसबाट आम्दानी लिन सक्नुपर्छ ।’ 

पुर्खाले बाजा बजाएकै कारण विभेद खेप्नु परेको भए पनि अहिले त्यो पेसा सबै समुदायले अँगालेर आम्दानी लिइरहेकाले यो समुदाय पनि सक्रिय भएर पेसा संरक्षणमा जुट्नुपर्ने दलित अगुवा करण परियारले बताउनुभयो । उनले आफ्नो पुर्खाले गरेको पेसालाई अहिले अन्य समुदायले पनि आम्दानीको स्रोत बनाउँदा दलित समुदाय मुखदर्शक भएर हेर्नुपर्ने अवस्थाको अन्त्य गर्न र पेसाको प्रवर्द्धन गर्न पहल थालिएको उल्लेख गरे । 

‘हाम्रा पुर्खाले विगतमा धान, गहुँसँग कपडा सिलाउने सीप साटेर जीवन चलाउने गरेका इतिहास छन्’, उनले भने, ‘त्यसैले सिलाउने, बजाउने पेसालाई हामीले अगाडि बढाउनुपर्छ ।’ यसरी दलित समुदायले व्यवसाय गर्न चाहेमा सरकारले सहजै ऋण दिने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए । 

समाजले तुलसीपुरस्थित बसपार्कमा भवन निर्माण गरिसकेको छ । पछिल्लो समय अन्य समुदायले पञ्चेबाजा बजाउने पेसालाई व्यावसायिक रूपमा अगाडि बढाइरहेको अवस्थामा दलित समुदाय आफैँ अग्रसर भई पुर्खाको पेसा संरक्षण र प्रवर्द्धनमा एकजुट भएका हुन् । तुलसीपुरमा १०० बढी परियार समुदाय सङ्गठित भएका छन् ।  

प्रतिक्रिया