म्युजिक भिडियोमा  मख्ख सुषमा 

राम्रो अनलाइन     २५ जेठ २०७८, मङ्गलबार
म्युजिक भिडियोमा  मख्ख सुषमा 

कैलाली, धनगढीकी सुषमा अधिकारी छ वर्षअघि काठमाडौँ आउनुको उद्देश्य बेग्लै थियो । धनगढीमा प्लस टू सकेर कलेज पढ्न काठमाडौँ आएकी थिइन्, उनी । स्कुल पढ्दादेखि नै नाच्न भनेपछि भुत्तुकै हुने उनको स्वाभाव थियो । ‘नृत्यसम्बन्धी कुनै ट्रेनिङ लिने अवसर मिलेको त थिएन, तर मलाई नाच्न खूब मन पथ्र्यो,’ सुषमा भन्छिन् । स्कुलमा हुने सांस्कृतिक कार्यक्रम र चाडपर्वमा आफ्नो नृत्य कौशल देखाउने मौका मिले पनि घरपरिवारबाट उनलाई कलाकार बन्ने अनुमति थिएन । ‘बाबा÷ममीले पढेर जागिर खानुपर्छ भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘तर, मेरो रुचि कलाकार बन्ने थियो । काठमाडौँ आएपछि आफ्नो रुचिलाई पछ्याइरहेकी छु ।’ 

काठमाडौँ आएपछि पढाइ र मोडलिङलाई सँगसँगै अघि बढाउने मौका पाएकी सुषमा अहिले निकै व्यस्त मोडलमा पर्छिन् । महिनामा कम्तिमा तीन÷चार वटा म्युजिक भिडियोमा अभिनय गर्छिने, उनले । अहिलेसम्म तीन सयजति म्युजिक भिडियोमा काम गरिसकिन् । ‘बाबा÷ममीले पढाइलाई नै जोड दिनुपर्छ भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘म पढाइसँगै मोडलिङलाई पनि अघि बढाउने विचारमा थिएँ । त्यसैले काठमाडौँ आएपछि सबैभन्दा पहिला फोटो सुट गराएँ ।’ पत्रिकामा तस्बिर छापिएपछि संगीत सागर थापाको गीतमा अभिनय गर्ने मौका जु¥यो । पहिलो पटक ‘फुलबारीको बाटो हिँड्छौ’ बोलको म्युजिक भिडियोमा उनले अभिनय गरिन् । 

सुषमा ‘अनौठो प्रेम कथा’ र ‘पीपल’ फिल्मकी अभिनेत्री पनि हुन् । म्युजिक भिडियोमा हिट भएपछि उनलाई फिल्ममा पनि केही गर्नुपर्छ भन्ने लाग्यो । फिल्ममा ट्राई पनि गरिन् । थुप्रै निर्माता र निर्देशकलाई भेटेको उनी बताउँछिन् । ‘‘फिल्म बनाउँदै छौँ’ भन्दै थुप्रै लगानीकर्ता र निर्देशकलाई भेटेँ,’ उनी भन्छिन्, ‘करिअरको सुरुवाती चरणमा भेटेका कतिपय फिल्मका लगानीकर्ता र निर्देशक हुँ भन्नेहरूले अहिलेसम्म एउटा पनि फिल्म बनाएका छैनन् ।’ 
‘कति त कलाकार तथा हिरोइनसँग उठबस र संगत गर्न पाइन्छ भनेर पनि फिल्म बनाउने गफ दिएर झुलाउने गर्छन्,’ सुषमा थप्छिन्, ‘त्यो तीतो अनुभव पनि छ मसँग ।’ फिल्मको लम्बेतान प्रक्रियामा अल्झेर वर्षको एउटा–दुइटा फिल्मको लागि मरिहत्ते गर्नुभन्दा आम्दानी पनि राम्रै हुने र टाइम पनि थोरै दिए पुग्ने म्युजिक भिडियोमै आफ्नो करिअर सुरक्षित देखेर यो क्षेत्रमा लागेको सुषमा बताउँछिन् । 

छोरी मोडल भएको उनका आमाबाले टेलिभिजनमा हेरेर थाहा पाएका थिए । ‘टेलिभिजनमा म्युजिक भिडियो प्रसारण हुन थाल्दा समेत मैले घरमा भनेकी थिइनँ,’ सुषमा भन्छिन्, ‘एक दिन मैले अभिनय गरेको भिडियो हेरेपछि आमाले फोन गर्नुभयो । मैले पढाइसँगै म्युजिक भिडियोमा पनि काम गर्दैछु भनेँ ।’ स्नातक उर्तीण गरेकी उनी अझै केही समय म्युजिक भिडियोमै आफूलाई व्यस्त बनाउने बताउँछिन् । ‘कमाइ पनि राम्रै छ, खाली बस्नु पनि परेको छैन त्यसैले अहिलेलाई म्युजिक भिडियोमै बढी समय दिइरहेको छु,’ उनी भन्छिन् । चर्चित गायक÷गायिका प्रायः सबैको गीतमा मोडलिङ गरेकी उनी गीतको भावमा डुबेर अभिनय गर्दा आफूलाई अर्कै दुनियाँमा पुगेको महसुस हुने बताउँछिन् । अभिनय फिल्म, म्युजिक भिडियो, नाटक जेमा गरे पनि हृदयदेखि नै गर्न सक्दा मात्र त्यसमा निखार आउने उनको बुझाइ छ । ‘अभिनय ३० सेकन्डका लागि वा तीन घण्टाका लागि जति गरे पनि त्यसले दर्शकलाई बाँध्न सक्नुपर्छ,’ उनी भन्छिन् । गायिका अञ्जु पन्तको ‘तिमीले भुल्न सके’ गायक शिव परियारको ‘तिमीलाई भुल्ने बहानामा’ गीतको म्युजिक भिडियोमा आफूले गरेको अभिनय उनलाई मन पर्छ ।

थुप्रै विज्ञापनमा पनि अभिनय गरेकी छिन् सुषमाले । स्टेज कार्यक्रममा पनि उत्तिकै व्यस्त हुन्छिन् । स्वेदश तथा विदेशमा हुने कार्यक्रमबाट राम्रै कमाइ हुने उनी बताउँछिन् । ‘फुल टाइम मोडलिङमा दिएर नै काठमाडौँमा टिक्न सजिलो भएको छ,’ उनी भन्छिन् । राप्ती समाजले काठमाडौँमा आयोजना गरेको छैटौँ राप्ती म्युजिक अवार्डमा उत्कृष्ट मोडलको अवार्ड जितिन्, सुषमाले । भिडियोबिना गीतको चर्चा कम हुने गरेकाले आफूजस्ता मोडलले काम पाउन थालेको उनी बताउँछिन् । ‘पहिला एल्बम निकाल्ने लहर थियो भने अहिले एउटा गीत र त्यसको भिडियो बनाउने लहर चलेको छ,’ उनले भनिन्, ‘जसको प्रत्यक्ष फाइदा मोडलिङमा करिअर बनाउन खोज्नेहरूलाई पुगेको छ ।’ ग्ल्यामर तथा मोडलिङको दुनियाँलाई हल्काफुल्का ढंगले लिँदा दुर्घटनामा पर्न सकिने उनको सोचाइ छ । ‘यसलाई पेशाका रूपमा अगाडि बढाउनुपर्छ र धैर्य गरेर यो क्षेत्रमा लाग्नुपर्छ,’ उनी भन्छिन् । 
 

प्रतिक्रिया