चीनको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण सुरु भएको केही महिनामै लाखौँ मानिस यसबाट संक्रमित भएका थिए । चीनबाट निकै टाढाका मुलुक इटाली, स्पेन, इंग्ल्यान्ड, अमेरिका सबैभन्दा बढी भाइरसबाट प्रभावित भएका थिए । तर, नजिकै रहेको टापू ताइवानले भने भाइरसको संक्रमण नियन्त्रणमै राख्न सकेको थियो ।
यो सानो टापू, जसले विश्वमा राष्ट्रको हैसियत पनि प्राप्त गरेको छैन, ले कसरी कोरोना महामारीलाई रोक्न सफल भयो त ?
ताइवान दक्षिणपूर्वी चीनको किनाराबाट १ सय ६० किलोमिटर टाढा पर्ने टापू हो। सन् १९४९ मा माओत्सेतुङ नेतृत्वको जनमुक्ति सेनासँग पराजित भएपछि तानाशाह च्याङ काई सेक आफ्नो सेनासहित भागेर त्यो टापूमा पुगेका थिए। त्यहीँ उनले ‘रिपब्लिक अफ चाइना’ सरकार गठन गरे। लामो समयसम्म ताइवानले मुख्यभूमि चीनलाई समेत आफ्नै अधिकार क्षेत्र दाबी गरिरहेको थियो। अर्कोतर्फ कम्युनिस्ट शासन भएको चीनले पनि ताइवानलाई आफ्नै अधिकार क्षेत्र मान्छ। एक चीन नीतिअन्तर्गत ताइवानलाई मान्यता दिने मुलुकसँग चीनले सम्बन्ध राख्दैन। तसर्थ ताइवानले मुलुकको हैसियत पाएको छैन। ऊ विश्व स्वास्थ्य संगठनको सदस्य पनि होइन।
ताइवानमा दुईहप्ते क्वारेन्टिनमा बसेकालाई दैनिक ३० डलर भत्ता पनि दिइएको थियो। मानिसहरूलाई रोग लुकाएर काममा जानुपर्ने बाध्यता थिएन । संक्रमितहरूले इमानदारीपूर्वक आफ्ना लक्षण बताउने गरेका थिए ।
जब २०२० जनवरीमा वुहानमा भाइरसको प्रकोप सुरु भयो, धेरैले अनुमान गरेका थिए, मुख्यभूमि चीनबाहिर सबैभन्दा बढी असर ताइवानलाई पर्नेछ । तर, ताइवानले त्यो अनुमानलाई गलत साबित गरी दियो । विशाल मुलुकहरू महामारीसँग संघर्ष गरिरहँदा ताइवानले तुलनात्मक रूपमा सजिलै प्रकोपको पहिलो चरण पार गरेको थियो ।
सुरुवाती निर्णायक कदम
सन् २००३ को सार्स महामारीबाट पनि ताइवान निकै प्रभावित भएको थियो।त्यहाँ ७३ जनाको मृत्यु भएको थियो। अन्य ३ सय ४६ जना संक्रमित भएका थिए। त्यसैले चीनको वुहानमा रहस्यमय निमोनिया देखापरेको खबर सुन्नेबित्तिकै ताइवानले यसलाई गम्भीरतापूर्वक लियो।
जनवरी २० मा ताइवानले सेन्ट्रल एपिडेमिक कमान्ड सेन्टर नै गठन ग¥यो। जसमा चिकित्सा र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सम्मिलित थिए। त्यसको नेतृत्व गरेका थिए, उपराष्ट्रपति डा. चेन चिन जेनले। जो आफैँ प्रसिद्ध महामारीविज्ञ हुन्।
‘सार्सबाट सिकेको कठिन पाठका कारण अरूभन्दा ताइवान छिट्टै तयारी गर्नतर्फ लाग्यो,’ अमेरिकाको अरेगन स्टेट युनिभर्सिटीका जनस्वास्थ्य विषयका प्राध्यापक डा. चुनहुई ची भन्छन्।
त्यसपछि निगरानी, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन, क्वारेन्टिनजस्ता उपाय तत्कालै लागू गरियो। यस्तै उपायका कारण संक्रमितको संख्या कम राख्न ताइवान सफल भयो। किनभने, अन्य मुलुकमा जस्तो थिएटर, डिपार्टमेन्टल स्टोर र स्कुल बन्द गरिएको थिएन । यद्यपि, सार्वजनिक भेलालाई निरुत्साहित गरिएको थियो ।
मुख्यभूमि चीनमा संक्रमितहरूको संख्या बढ्न थालेसँगै ताइवानले चीन, हङकङ र मकाओका पर्यटकलाई प्रतिबन्ध लगायो।
व्यापक परीक्षण
कोभिड–१९ का लागि पीसीआर परीक्षण जनवरीमै सुरु ग¥यो। सुरुमा लक्षण देखिएका र संक्रमित क्षेत्रबाट आएका मानिसहरूमा यो परीक्षण गरिएको थियो। तर, छिमेकी मुलुकमा संक्रमण फैलिँदै जाँदा उसले रुघाखोकीको लक्षण देखिएकालाई पनि परीक्षण गर्न थाल्यो।
यसैका माध्यमबाट अन्यत्र भ्रमण नगरेका पहिलो बिरामीमा संक्रमण फेला प¥यो। ती व्यक्ति ट्याक्सी ड्राइभर रहेछन्, जसले एक चिनियाँ यात्रीलाई यात्रा गराएका थिए। लगत्तै, परीक्षणको दायरा फराकिलो पारियो। गन्ध र स्वाद थाहा नपाउने लक्षण देखिएका बिरामीको पनि परीक्षण गरियो । ताइवानमा ४९ प्रतिशत संक्रमितलाई मात्र ज्वरो देखिएको थियो । ३७ प्रतिशतलाई नाकमा सिँगान बग्ने र मात्र सात प्रतिशतमा गम्भीर निमोनिया देखिएको थियो ।
भएन स्रोतसाधनको अभाव
सार्वजनिक स्थलमा एक मिटर दूरी राखेर मात्र उपस्थित हुन पाइने नियम कडाइकासाथ लागू गरियो । त्यस्तै, सार्वजनिक यातायात चढ्दा मास्क अनिवार्य लगाउने नियम लगाइएको थियो ।
मास्कको माग बढेसँगै जनवरीको अन्त्यमा ताइवानी सरकारले आपूर्ति सहज हुनेगरी मास्कको बिक्रीमा खटन लगायो। त्यसयता तोकिएको स्थानमा गएर मात्रै तोकिएको मात्रामा नागरिकले मास्क खरिद गर्न पाउँथे ।
त्यतिमात्र होइन, मास्कको उत्पादनमा पनि ताइवानले लगानी ग¥यो। ‘उत्पादन क्षेत्रमा ६८ लाख डलर खर्च गरेर विभिन्न ६० उद्योग थपियो,’ प्रा. ची भन्छन्, ‘जसका कारण दैनिक १८ लाख मास्क उत्पादन गर्ने ताइवानले ८० लाख उत्पादन गर्न थाल्यो। यसलाई ‘ताइवानको मास्क चमत्कार’ समेत भन्न थालियो।’
मास्कका साथै सरकारले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को उत्पादनमा पनि ध्यान दियो। बिरामीको संख्या बढ्दै गए तिनको उपचारमा स्रोतसाधनको कमी हुन नदिन के गर्ने भनेर स्पष्ट योजना बनाइयो।
संक्रमित पत्ता लगाउन प्रविधिको प्रयोग
प्रकोपको सुरुमै सम्भावित संक्रमित र तिनको सम्पर्कमा आएका मानिसहरू पत्ता लगाउन ताइवानले प्रविधिको प्रयोग ग¥यो।स्मार्टफोनको प्रयोगबाट मानिसहरूलाई ट्र्याक गर्ने, क्वारेन्टिनमा राखिएकाले नियम पालना गरेका छन् छैनन् निगरानी गर्ने काम भयो।
रोग फैलिन नदिन ताइवानले मिश्रित उपाय अपनाएको थियो । क्वारन्टिनमा बसेका मानिसहरूलाई पनि सरकारले उचित राहत दिएको थियो। त्यस्ता व्यक्तिलाई स्थानीय नेतृत्वले अत्यावश्यक सामग्री आपूर्ति गराउने गरेको थियो। त्यसमाथि दुई हप्ते क्वारेन्टिनमा बसेकालाई दैनिक ३० डलर भत्ता पनि दिइएको थियो। यसले गर्दा मानिसहरू रोग लुकाएर काममा जानुपर्ने बाध्यता भएन र उनीहरूले इमानदारीपूर्वक आफ्ना लक्षण बताए ।
मानिसहरूलाई क्वारेन्टिनमा राख्न केही हदसम्म सरकारी स्वामित्वका भवन प्रयोग गरिएका थिए। तर, मुख्यगरी मानिसलाई घरमै बस्न आग्रह गरिएको थियो। एकातिर क्वारेन्टिनमा बस्नेलाई सुविधा दिइएको थियो भने अर्कातिर आइसोलेसनको निर्देशन उल्लंघन गर्नेलाई ३३ हजार डलरसम्म जरिबाना तोकिएको थियो ।
जोगियो अर्थतन्त्र
विश्वभर लकडाउनका जस्ता अभ्यास भए, ताइवानले त्यो लागू गर्नुपरेन। जसका कारण अर्थतन्त्रमा ठूलो क्षति परेन् । कार्यालय, रेस्टुराँ र मनोरञ्जन स्थलहरू खुल्लै थिए। अर्थात्, ताइवान खुल्ला रहेर नै भाइरस नियन्त्रण गर्न सफल भएको थियो । अन्तर्राष्ट्रिय पर्यटक शून्य भएको थियो। तर, स्थानीय पर्यटन व्यवसाय मज्जाले चलिरहेको थियो । अप्रिलको सुरुवाती सप्ताहन्तमा १५ लाख मानिस रिसोर्टमा गएर बसेका थिए।
कोरोना संक्रमण दर नियन्त्रण गर्न सकेकै कारण ताइवानको घरेलु अर्थतन्त्र जोगियो ।