लगानी सहजीकरणसम्बन्धी ऐन प्रमाणीकरण गराउनुपर्छ : मन्त्री शर्मा

राम्रो अनलाइन     २३ असार २०८१, आइतबार
लगानी सहजीकरणसम्बन्धी ऐन प्रमाणीकरण गराउनुपर्छ : मन्त्री शर्मा

 

काठमाडाैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रमाणीकरण गर्न ढिला गर्न नहुने बताएकी छन्। 

आइतबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले समयको सीमितता रहेको भन्दै उनले दुई, तीन दिन भित्रमा राष्ट्रपतिबाट कानुन प्रमाणीकरण गराउन नसके शून्यमा झर्ने भएकाले तत्काल संसदबाट पारित गर्नुपर्ने बताइन् । उनले राष्ट्रिय निकुञ्ज ऐन, वन ऐन लगायतका धेरै ऐनहरू संशोधन गर्न आवश्यक रहेको जानकारी दिइन् ।

'अहिले हामी जुन ढङ्गले छलफल गर्दैछौँ, हामीसँग समयको अत्यन्तै सीमितता छ । हामीसँग राष्ट्रिय निकुञ्ज ऐन, २०२९ हो । यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने पनि छ । वन ऐन लगायत थुप्रै कानुनहरु छन् । जसलाई हामीले विकास आयोजना सञ्चालन गर्न अनुकूल हुने गरेर हाम्रा कानुनहरू संशोधन गर्नुपर्नेछ ।,’ मन्त्री शर्माले भनिन्, ‘तर यति बेला हामी समयको अत्यन्तै सीमिततामा छौँ । हामीले दुई, तीन दिन भित्रमा राष्ट्रपतिबाट यो कानुन प्रमाणीकरण गराउन सकेनौँ भने शून्यमा जान्छ । आजै राष्ट्रिय सभाकक्षबाट पारित गरेर प्रतिनिधि सभामा लैजाँदैछौँ । त्यहाँबाट सम्माननीय राष्ट्रपतिज्यू कहाँ पुर्‍याएर यो ऐन प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।’

मन्त्री शर्माले विधेयकहरू पास गरेर जानुपर्ने अहिलेको बाध्यता भएको बताइन्। 

प्रतिक्रिया