सरकार परिवर्तन भएपछि जनतामा आशा र विश्वास जागेको छ : प्रधानमन्त्री ओली 

राम्रो अनलाइन     ०१ साउन २०८१, मङ्गलबार
सरकार परिवर्तन भएपछि जनतामा आशा र विश्वास जागेको छ : प्रधानमन्त्री ओली 


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन ठुलो कुरा नभएको बताएका छन्। नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलवार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले देशको अवस्था परिवर्तन मुख्य कुरा भएको बताए  । नयाँ सरकार परिवर्तन भएपछि नेपाली जनतामा आशा र विश्वास जागेको उनको भनाइ छ ।

भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए । प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठिक ढङ्गले नेतृत्व गर्ने उनले बताए । देशको विकास, सुशासन र आमजनताका निम्ति आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । यस अघि प्रधानमन्त्री हुँदा पनि यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पारे।

यस पटक आफूसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको बताउँदै त्यसले अप्ठ्यारासँग जुध्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । ‘कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्याराहरूसँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू पनि मसँग छ, आज कतै पनि त्यस्तो स्थिति छैन, आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन, हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति छैन’, उनले भने ।

अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति भएको उनले बताए । नेपालको भौगोलिक स्थितिले पनि यस्ता कुराहरू रोक्न कठिनाइ भइरहेको उनले प्रष्ट पारे । आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले बताए।

हिजो मात्रै मन्त्रिपरिषद् बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको उनले बताए । त्यसलाई गृह मन्त्रीले गम्भीरतापूर्वक लिएर काम गरिरहेको उनले सुनाए । प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा कसरी गर्ने भन्ने विषयमा तयारी भइरहेको ओलीले बताए । उनले गत वर्षको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको आवास निर्माणको लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिए ।

ओलीले एक वर्ष भित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा गएर अलपत्र नहुने बताए । ‘ती भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ’, उनले भने ।

प्रधानमन्त्रीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई ३ सय दिन भित्र प्यारा फिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने निर्णय भएको बताए । हिजोको मन्त्रिपरिषद् बैठक औपचारिक बैठक मात्र भएको बताउँदै उनले अब मन्त्रालयगत हिसाबले विकासको कामलाई कसरी अघि बढाउने भन्ने कुरा देखाउने ओलीले प्रष्ट पारे ।

सरकारले सुशासन र विकासको सन्दर्भमा, अप्ठेरोमा परेका जनताको हितका सन्दर्भमा देखिने गरी काम गर्ने कुरामा विश्वस्त, आश्वस्त र ढुक्क हुन आग्रह गरे । नागरिकको आत्मीयता र माया मर्न नदिने उनले विश्वास दिलाए।
 

प्रतिक्रिया