काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि कांग्रेस सभापति देउवाले छलफल थालेका हुन् ।
देउवाले कांग्रेसका शीर्ष नेता, नेकपा माओवादी केन्द्र, जसपालगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका कांग्रेसका प्रतिनिधि सभामा प्रम्ुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
खाणका अनुसार बैठक देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दा प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि राष्टपतिले आह्वान गरेकी हुन् ।
ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।
राष्ट्रपतिले सोमबार बेलुकी दलहरूलाई तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन् ।
प्रतिनिधि सभामा कांग्रेसका दुई निलम्बितसहित ६३, माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद छन्। राप्रपा, जनमोर्चा र नेमकिपाका पनि एकेक जना सांसद छन्।