चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने

राम्रो अनलाइन     २९ वैशाख २०७८, बुधबार
चौलागाईँका निधनमा पार्टीको आधा झण्डा झुकाइने

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले) ले प्रदेशसभा सदस्य पशुपति चौलागाईँका निधनमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ ।  उनको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा  शोकपुस्तिका पनि राखिने छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पार्टी केन्द्रीय कार्यालयको ढोकामा स्व चौलागाईंको तस्वीरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ ।     

पार्टी केन्द्रीय सदस्य चौलागाईँको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा खबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र  २०७० सालको संविधानसभा निर्वाचनमा  समानुपातिकबाट सांसद भएका थिए ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईँ भद्र, निष्ठावान् र  इमान्दार नेता थिए ।  चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रे  गाउँमा भएको थियो । उनी हाल मध्यपुरथिमिमा बस्दै आएका थिए ।   पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मनुभएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । 

स्नातकोत्तर उनले २०३४ साल कात्तिक (तत्कालीन माले) बाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनले  छ महिना बन्दी जीवन बिताएका थिए  ।

विगतमा शिक्षण पेशाको अनुभवसमेत सँगालेका  चौलागाईँले भारत, बंगलादेश, श्रीलंका, चीन, थाइल्याण्ड, भियतनाम, इण्डोनेशिया, बेलायत, अमेरिका, फ्रान्स, जर्मनीलगायत धेरै देशको भ्रमण गरेका थिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँको निधनबाट शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताएका छन् ।  पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् ।

प्रतिक्रिया