वाग्मती प्रदेशसभाको बैठक : विपक्षी दलको एउटै स्वर, सरकार परिवर्तन गर्नुपर्छ

राम्रो अनलाइन     २४ असोज २०७८, आइतबार
वाग्मती प्रदेशसभाको बैठक : विपक्षी दलको एउटै स्वर, सरकार परिवर्तन गर्नुपर्छ

मकवानपुर– वाग्मती प्रदेशसभाको आइतबार बसेको नवौँ अधिवेशन बैठकमा विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय सरोकारको विषयलगायत प्रदेश सरकारले जनहितका लागि गरिएको कार्यको लागि आलोचनासहित आ–आफ्नो टिप्पणी प्रस्तुत गरेका छन् । उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा सांस्कृतिक पर्वमा हुने गरेको विभेदलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताइन् ।

उनले दलहरूले राष्ट्रको सार्वभौम, राष्ट्रियताको सम्वद्र्धन गर्ने र जनताको बृहत हित र मानव अधिकारको संरक्षणको लागि प्रमुख एजेण्डा बनाइ अघि बढ्नुपर्ने खाँचो औँल्याइन् । मुख्यमन्त्री शाक्यले दलका शीर्ष नेताले पद, प्रतिष्ठाभन्दा नेपाल र नेपालीलाई केन्द्रविन्दुरमा राखेर विकासको लागि राजनीति गर्दा संविधानको भविष्य जीवन्त हुने विश्वास व्यक्त गरिन् ।

सो बैठकमा सत्तारुढ नेकपा (एमाले) संसदीय दलका सचेतक दीपक निरौलाले प्रदेशका सबै धर्म संस्कृति समुदायका व्यक्तिलाई प्रदेश सरकारले समान धारणाका साथ आफ्नो स्रोत र साधनअनुसार, सेवा सुविधा उपलब्ध गराउँदै आएको चर्चा गर्दै वर्तमान सरकारलाई सबै दलले विश्वासको मत प्रदान आग्रह गरे । सो बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले संविधानले परिकल्पना गरेको प्रजातान्त्रिकको व्यवस्थालाई जीवन्त तुल्याउनुको सट्टा मुख्यमन्त्री र मन्त्री पद प्राप्तिका लागि आफ्नो सिद्धान्त, निष्ठा र जनताप्रति जिम्मेवार हुनुपर्ने दृढतालाई त्याग्दा प्रजातन्त्र माथि नै सङ्कट आइपरेको बताए ।

उक्त अवसरमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबै नेपालीलाई दिगो शान्ति, मानव अधिकारको संरक्षण गर्न विगतको सङ्घीय र प्रदेश सरकारले सकारात्मक भूमिका खेल्न नसकेकामा चिन्ता व्यक्त गर्दै संविधानको संरक्षण गर्न र प्रदेशमा जनतालाई आधारभूत विकासप्रति आत्मनिर्भर तुल्याउन वर्तमान प्रदेश सरकार परिवर्तन गर्न आवश्यक रहेको बताए ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई दरिलो बनाउन राजनीतिक दलका नेताहरूले आफूलाई व्यावहारिक र पद प्राप्तिको होडबाजीलाई त्यागेर जनता र राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर राजनीति गर्नुपर्ने धारणा व्यक्त गर्दै  प्रदेशको वर्तमान सरकारले कुनै किसिमको प्रभावकारी भूमिका खेल्न नसकेकाले आफ्नो दलको तर्फबाट विश्वासको मत नदिने बताए ।

 

प्रतिक्रिया