एमालेले  फागुन मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन गर्ने

माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने
राम्रो अनलाइन     २५ मंसिर २०७८, शनिबार
एमालेले  फागुन मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन गर्ने


काठमाडौं–  नेकपा (एमाले) ले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन सक्न निर्देशन दिएको छ । एमालेको भक्तपुरमा जारी रहेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन मसान्तभित्र सबै जनवर्गीय सङ्गठनको महाधिवेशन र राष्ट्रिय सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

बैठकको प्रारम्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दशौँ  राष्ट्रिय महाधिवेशनले पार्टीलाई ऊर्जा, नयाँ शक्ति र नयाँ उत्साह भरेको उल्लेख गर्दै त्यो उत्साहलाई समाजको अग्रगामी रूपान्तरणका लागि प्रयोग गर्न सिङ्गो पार्टी परिचालन गर्नका लागि सबै सदस्यलाई आह्वान गरेको उपमहासचिव ज्ञवालीले बताए । 

अध्यक्ष ओलीले मुलुकमा दुई वटा विचारको प्रतिस्पर्धा रहेको भन्दै भने, ‘एउटा धारले विस्तारै विस्तारै प्रतिगमनको आधार निर्माण गर्दै गरेको र अर्को पक्षले समाजवादको आधार निर्माण गर्दै गइरहेको छ । यी दुई पक्षबीच क्रमशः धुव्रीकरण हुँदै आएको छ ।’ एमालेले समाजवादको आधारमा निर्माण गर्ने गरेको र त्यसलाई विभिन्न षड्यन्त्रले अवरुद्ध पार्ने काम भइरहेको अध्यक्ष ओलीले बैठकमा बताउनुभएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । 

बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको छ । यस्तै बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरालाई चयन गरेको छ । बोहराले शनिबार नै सपथ लिएका छन् । महाधिवेशन  भव्यताका साथ सम्पन्न भएको र यसले मुलुकलाई नयाँ दिशानिर्देश र पार्टीलाई सबल बनाएको बैठकले निष्कर्ष निकालेको उनले बताए । 

महाधिवेशन पश्चात् पार्टी नीतिगत रूपमा थप स्पष्ट र सही ढङ्गले दिशानिर्देशित भएको निष्कर्ष निकाल्दै अब सङ्गठनात्मक रूपमा थप सुदृढ र व्यवस्थित भएको निष्कर्ष निकालेको छ । बैठकले आगामी पुस २३ गते जिल्ला अधिवेशन एकै साथ र माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकै साथ सम्पन्न गर्ने निर्णय गरेको छ । विधानमा आवश्यक सम्पादन गर्न र पार्टीको नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय सदस्य खगराज अधिकारी र रमेश बडाल रहेको कार्यदल बनाइएको उनले जानकारी दिए । कार्यदलले एक हप्ताभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको छ । 

पार्टी कार्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने 

पार्टीको केन्द्रीय कार्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सार्ने निर्णय गरिएको छ । उनले पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानमा कार्यालय सार्ने र सो अवधिभित्र बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन बनाउने निर्णय गरेको बताए । 

माघ र फागुनमा पार्टी विस्तार अभियान

पुस महिनामा आवश्यक तयारी गरेर माघ र फागुन महिनामा पार्टी विस्तार र पार्टी प्रवेश अभियान सञ्चालन गरिने बैठकले निर्णय गरेको छ । अभियानका क्रममा पार्टीका महाधिवेशनका सन्देश सम्प्रेषण गरिने उपमहासचिव ज्ञवालीले बताए । 

 बैठकमा रहेका १५ कार्यसूचीमध्ये आज ९ वटा कार्यसूचीमाथि छलफल गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । भोलिको बैठकमा बाँकी रहेका १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी गठन, पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनलगायत एजेण्डामाथि छलफल गरेर सम्पन्न गरिने उनले बताए । 

बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले प्रमाणपत्र प्रदान गरेका थिए । बैठक भोलि पुनः बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया