काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको वैशाख ३० गते हुने स्थानीय निर्वाचनका सन्दर्भमा सञ्चालन भएको ‘घर–घर जाऔँ, नेपाली काँग्रेस जिताऔं’ अभियान उत्साहका साथ सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यसअघि फागुन ३ गतेको निर्णय बमोजिम सुरु भएको सो अभियानको अन्तिम दिन मंगलबार केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सातै वटा प्रदेश, सात सय ५३ पालिका, ७७ जिल्ला एवम् यसअन्तर्गत छ हजार सात सय ४३ वडा र दशौं हजार टोल समिति निर्माण भएको जानकारी दिए ।
‘मतदाताको गुनासो, चासो र सरोकारका विषय सुन्यौं, साथीहरु घर–घरमा पुग्ने काम भयो । विगतमा गरेका कामहरु जनताको बीचमा सुस्पष्ट रुपमा राख्न सक्यौं । कतिपय भ्रमहरु चिर्न सफल भयौं, उनले भने, ‘विगतमा कोभिड–१९ महामारीमा पनि ओली सरकारको पालामा भएको घोटाला, रोजगारी गुम्ने र कोभिड व्यवस्थापन सुस्त भयो, त्यसलाई कांग्रेसको सरकारले ७५.७ प्रतिशत पूर्ण खोप र ६६.१ प्रतिशतले दोस्रो चरणको खोप प्राप्त गर्न सफल भयो ।’
उनले यो अभियान सुरु गर्दो पार्टी एकता र सौहार्दताका साथ एकताबद्ध भएर अगाडि जाने, जिम्मेवारी दिनेलगायतका मुख्य आठ उद्देश्य राखिएको बताए । प्रवक्ता महतका अनुसार विगतमा भ्रष्टाचार प्रकरणको विषयमा, कुन परिवेशमा कांग्रेस सरकारको पक्षमा उभिएको, अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे भ्रम पैदा गरिएको थियो त्यो चिर्ने र पारित गर्ने काम गरिएको भन्ने कुरा जनताको बीचमा राख्ने काम भएको छ ।
उनको स्थानीय निर्वाचनका लागि केही प्राविधिक कठिनाई रहेको र यसमा उम्मेदवारीको विषय पनि छिट्टै टुङ्गो लाग्ने भनाइ छ । उनले गठबन्धनमा तालमेलको कुरा छ, राष्ट्रिय निर्वाचनमा सीमित सङ्ख्याको काँटछाँट गरेजस्तो होइन, यसको पनि चाँडै नै कसरी तालमेल गर्ने भन्ने कुरा थाहा पाउने बताए ।
उनले निर्वाचनमा स्थानीय परिस्थिति, आवश्यकता र विधानको संरचना अनुरुप तालमेल हुने बताए । यससँगै उहाँले ‘घर–घर जाऔं, नेपाली काँग्रेस जिताऔं’ अभियानमा सहयोग गर्नुहुने पार्टी पंक्ति, शुभेच्छुक संस्था, सञ्चार माध्यमलगायत सबैमा धन्यवाद ज्ञापन पनि गरे ।