बलिउड वृत्तान्त : ‘इन्डस्ट्री’ मा जो अपमानित भए    

एजेन्सी     १९ जेठ २०७८, बुधबार
बलिउड वृत्तान्त : ‘इन्डस्ट्री’ मा जो अपमानित भए    

बर्सेनि हजारभन्दा बढी फिल्म बन्ने बलिउड फिल्म इन्डस्ट्रीका चम्किला पाटा जति छन्, अँध्यारा पाटा पनि कम छैनन् । रङ, नश्ल, अनुहार, सुन्दरता आदिका आधारमा यहाँ अपमान र भेदभाव भोग्ने कलाकार थुप्रै छन् । बलिउडलाई ‘परिवारवाद र गोरोपन हाबी भएको उद्योग’ पनि भन्ने गरिन्छ । छालाको रङ र शारीरिक सुन्दरताका आधारमा बलिउडले अमिताभ बच्चनदेखि नवाजुद्दिन सिद्दिकीसम्मलाई होच्याएको छ । 


अमिताभ बच्चन 
आज महानायक अमिताभ बच्चनका अगाडि सिंगो बलिउड आदरपूर्वक शिर निहुराएर उभिन्छ । तर, कुनै बेला उनको मजाक उठाइन्थ्यो । बलिउडमा उनी जतिखेर संघर्षरत थिए, उनका लामा खुट्टा र दुब्लो शरीर ठट्टाका विषय बन्थे । अमिताभका कान पनि ठूला थिए । कान ढाक्नका लागि उनले कपाल पाले । पछि कान छोप्ने ‘हेयर स्टाइल’ शानदार साबित भयो र सन् १९७०÷८० को दशकमा अमिताभको जस्तो कपाल पाल्ने फेसन नै चल्यो । आफ्नो प्रतिभाको बलमा भेदभाव र अपमानलाई जितेर उनी बलिउडको शहंशाह बने । 

शत्रुघ्न सिन्हा


अभिनेता शत्रुघ्न सिन्हाको ओठ काटिएको छ । बलिउड इन्डस्ट्रीमा जब उनको प्रवेश भयो, उनको काटिएको ओठ हाँसो र ठट्टाको विषय बन्यो । उनकै सामुन्ने उनलाई मान्छेहरू भन्ने गर्थे, ‘काटिएको ओठ लिएर यो मान्छे सो बिजनेसमा कसरी अघि बढ्ला र खै ?’ तर, जब उनका फिल्म प्रदर्शनमा आउने थाले, काटिएको ओठबाट निक्लेका उनका ‘डायलग’को वाहवाही हुन थाल्यो । उनका संवादमा हल दर्शकको तालीको गडगडाहटले गुञ्जायमान हुन्थ्यो । उनका फ्यानहरूले उनले बोल्ने शैलीको मात्रै नक्कल गरेनन्, केहीले त आफ्नो ओठनेर ब्लेडले काटेर उनको जस्तै निशान बनाउन थाले । 

रेखा 


सन् १९७० को दशकमा रेखाले फिल्म ‘सावन भादों’बाट डेब्यू गरेकी थिइन् । उनलाई बलिउड इन्डस्ट्रीले ‘काली’, ‘मोटी’ जस्ता उपनाम दिएको थियो । छालाको रङका कारण उनले धेरै ठाउँमा अपमान र भेदभाव भोग्नुप¥यो । तर, उनले हिम्मत हारिनन् । आफ्नो अभिनय क्षमतालाई निखार्दै र तिखार्दै लगिन् । परिणामतः उनले १ सय ८० भन्दा बढी फिल्ममा काम गरिन् । बलिउडमा उनी ४० वर्षदेखि टिकिरहेकी छिन् ।

मिथुन चक्रवर्ती 


मिथुन चक्रवर्तीले सन् १९७६ मा आफ्नो पहिलो फिल्म ‘मृगया’बाट नेसनल अवार्ड प्राप्त गरेका थिए । उनको बेजोड अभिनयको सबै प्रशंसा गर्थे, तर कमर्सियल फिल्ममा उनले राम्रो भूमिका पाएनन् । कारण थियो– उनको कालो वर्ण । छालाको रङका कारण उनले पनि इन्डस्ट्रीमा निकै अपमान बेहोर्नुप¥यो । निर्माता केसी बोकाडियाले एक अन्तर्वार्तामा भनेका थिए, ‘सन् ८० को दशकमा मैले उनलाई फिल्म ‘प्यार झुकता नहीं’मा कास्ट गरेको थिएँ । उनी ‘डिस्को डान्सर’ बाट प्रसिद्ध भइसकेका थिए । तर, थुप्रै लगानीकर्ता रोमान्टिक फिल्ममा मिथुनलाई हिरो लिन चाहँदैनथे । केहीले त मलाई यहाँसम्म भने– ‘हिरो त गोरो हुन्छ, कालो पनि हुन सक्ला तर तिम्रो हिरो त निलो छ ।’’ 
‘प्यार झुकता नहीं’ सुपरहिट भयो । जसलाई मिथुन कालो र निलो लाग्थ्यो, त्यसपछि भने उनीहरूलाई उनी ‘टल डार्क एन्ड ह्यान्डसम’ लाग्न थाले । 

डेनी डेन्जोङ्पा

सिक्किमका अभिनेता डेनी डेन्जोङ्पालाई बलिउड भारतीय मान्दैनथ्यो । उनको अभिनयमा खोट लगाउने हिम्मत त कसैले गर्दैनथ्यो तर अनुहारका कारण उनलाई बलिउडले ‘आफ्नो’ मान्दैनथ्यो । एक जना ठूलो निर्देशकले त उनलाई होच्याएर भनेका थिए, ‘तिमी पहाडतिर जाऊ र कसैको घरमा वाचम्यान भएर बस ।’ डेनीले त्यही दिन कसम खाएका थिए– ‘एक दिन यो निर्देशकको भन्दा ठूलो बंगला बनाउनेछु ।’ नभन्दै, पछि उनी बलिउडका सशक्त अभिनेतामध्ये एक भए र जूहू इलाकामा भव्य बंगला बनाए । 

नसिरुद्दिन शाह


आज भारतका बेजोड अभिनेताको नाम लिनुप¥यो भने सबैले सम्झिने नाम हो– नसिरुद्दिन शाह । रंगमञ्चका त उनी अब्बल अभिनेता हुँदै हुन्, फिल्ममा पनि उनले खास उचाइ बनाएका छन् । तर, बलिउडले ‘कुरूप’, ‘अनुहार नपरेको मान्छे’ आदि नाम दिएर उनको अपमान गरेको थियो । उनका अनन्य मित्र तथा अत्यन्त प्रतिभाशाली अभिनेता ओम पुरीलाई पनि बलिउडले होच्याउन कुनै कसर बाँकी राखेन । पुरीको बिफरले बिग्रेको अनुहार इन्डस्ट्रीका लागि मजाकको विषय बनेको थियो । 

स्मिता पाटिल 


महिलाको सुन्दरताका निम्ति गोरोपन अनिवार्य शर्त हुने बलिउडले स्मिता पाटिलजस्ती कालो वर्णकी अभिनेत्रीलाई होच्याउने नै भयो । तर, उनको प्रतिभाले इन्डस्ट्रीलाई मुखभरिको जवाफ दियो । उनले ‘आर्ट मुभी’मा मात्र होइन, कमर्सियल फिल्ममा पनि अभिनयको बेजोड उदाहरण प्रस्तुत गरिन् । 

नवाजुद्दिन सिद्दिकी 


केही समयपहिले अभिनेता नवाजुद्दिन सिद्दिकीले ट्वीट गरेका थिए, ‘मलाई गोरा र ‘ह्यान्डसम’ कलाकारका साथमा कास्ट गर्न नसकिने यथार्थ बताइदिएकोमा धन्यवाद ! किनभने, मेरो रङ कालो छ र मेरो अनुहार राम्रो पनि छैन । तर, म यस्ता चिजमा ध्यान दिन्नँ ।’ 

खासमा कास्टिङ डाइरेक्टर सञ्जय चौहानले एक अखबारमा गरेको टिप्पणीमाथि सिद्दिकीले ट्वीट गर्दै प्रतिटिप्पणी गरेका थिए । चौहानले भनेका थिए, ‘फिल्म ‘बन्दुकबाज’मा नवाज पहिलेदेखि नै प्रोजेक्टमा थिए तर मुख्य अभिनेत्री र अन्य कलाकार लिँदा उनको व्यक्तित्वको ख्याल गर्नुपथ्र्याे । कुनै ‘फेयर एन्ड ह्यान्डसम’लाई नवाजको अगाडि कास्ट गर्न सकिँदैनथ्यो ।’

रूप र वर्णका कारण सिद्दिकीले यसअघि पनि नमज्जाका थुप्रै घटना भोगे । अभिनेता ऋषि कपुरले समेत उनको अपमान गरेका थिए । एक प्रसंगमा सिद्दिकीले आफू ‘रूखमुनि हिरोइनको वरिपरि घुमेर नाच्ने हिरो’ नभएको बताएका थिए । उनको बयानमाथि टिप्पणी गर्दै कपुरले ‘तिम्रो अनुहार र व्यक्तित्वका कारण हिरोइनसँग त्यसो गर्ने अवसर पाउनेछैनौ’ भन्ने आशयको ट्वीट गरेका थिए । 
 

प्रतिक्रिया